हिजो (शुक्रबार) सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेको विपक्षमा फैसला सुनाएको छ । शुक्रबार भएको अन्तिम सुनुवाइपछि सर्वोच्चले लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएको हो । यो प्रकृयासँगै नेपाली राजनीति तरङ्गित बनेको छ । त्यसका साथै राज्य संयन्त्रमाथि समेत प्रश्न चिन्ह् खडा भएको छ ।
देशको नागरिक नभएको मान्छेलाई दल खोल्नसम्मको अधिकार दिने, चुनावमा उमेद्धार बनाउन योग्य ठान्ने निर्वाचन आयोग माथिनै प्रश्न उठेको छ । अर्काे तर्फ राज्य संयन्त्रको काजोरिको पक्षलाई इनकार गर्दै देशको नेतृत्व गर्छु, दलहरु सुध्रिएन, राजनीति सुधारछु भनेर राजनीतिमा होमिएकाले नेपाली नागरिकता लिन किन कन्जुस्याँई गरे ? प्रश्न सम्बन्धितहरु तर्फ पनि उत्तिकै तेर्सिन्छन् । तर मुख्य कमजोरी राज्य संयन्त्रकै देखिन आउँछ । रवि लामिछानेको नागरिकताको विषयमा पटक–पटक कुरा उठ्यो, तर सत्ताका मण्डलेहरुले (जो आफूलाई ठूलो पार्टी भन्न रुचाउछन्) रविलाई राज्यको यति ठूलो ओहोदा दिन किन हतार गर्यो ? प्रश्नहरुको चाङ्नै चाङ रहेको छ ।
अर्काे तर्फ यतिबले को नेपाली र को नेपाली नागरिक भन्ने विषयमा पनि बहस सुरु भएको छ । नागरिक कुनै पनि राष्ट्र वा नगरको आधिकारिक नागरिकता प्राप्त गरेको ब्यक्ति हो । राज्यसँग नागरिकको कानूनी सम्बन्ध स्थापीत गरी अधिकारको रक्षा गर्ने दस्तावेज नागरिकता हो । यो राज्य र नागरिकबिचको सम्बन्ध सेतुको रुपमा रहेको हुन्छ । नागरिक वैयक्तिक पहिचान हो भने नागरिकता राज्य र व्यक्तिको सम्बन्ध सूचकको अवस्था हो । निश्चित भुगोलभित्र बसोबास गर्ने र राज्यको निश्चित कानुनी प्रकृयाहरु पुरा गरिसकेपछि प्राप्त गर्ने परिचयपत्र नै नागरिकता हो । नेपाली चाहि एउटा भाषिक समूह अर्थात् भावना वा पन हो । यसको कुनै सिमाना र क्षेत्रफल हुदैन । उदाहरणको लागि छिमेकी मुलुक भारतको दार्जिलिङ र सिक्किम बस्ने नेपाली भाषीहरु, भाषा र मुलका हिसाबले नेपाली हुन् तर उनीहरु नेपाली भाषी, नेपाली मुलका भारतिय नागरिकहरु हुन् । यसको मतलब विश्वभर छरिएर रहेका सबै नेपाली भाषी र समुदाय नेपाली नागरिक होइनन् । त्यसैले हामी नागरिकहरुले नागरिकता, नागरिक र भाषीक समुदायको बारेमा बुझन् चाहि जरुरी छ ।