चितवन। नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएसँगै पोखरातर्फ जाने सवारी तथा ढुवानीका साधन चल्न थालेका हुन् ।
सूचना अधिकारी मिश्रका अनुसार ज्यामिरेघाट चौकीभीरमा ढुङ्गा र लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ भने हुग्दी खोलादेखि जवाङखोलासम्मको क्षेत्रमा ठाउँठाउँमा ढुङ्गासहितको साना पहिरा खसेको छ । फिस्लिङ आसपासस्थित विभिन्न तीन स्थान गरी करिब २०० मिटर सडकमा ढुङ्गा, लेदो र रुखसहितको पहिरो खसेको छ भने ३० मिटरजति सडकको आधा भाग ३० चर्किएको छ । चुम्लिङटारमा ढुङ्गासहितको पहिरो खसेको छ । धारापानीको दुई स्थानमा गरी करिब ५० मिटर सडकको आधा भाग भत्किएको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो ।
सोही स्थानमा ‘कल्भर्ट’ खुलाउने काम भइरहेको र घोप्टेभीर तथा सिमलधारामा ठूला ढुङ्गा र लेदोसहित आएको पहिरोका कारण सडक अवरुद्ध भएको छ । इञ्जिनियर मिश्रका अनुसार सबै ठाउँमा पहिरो पन्छाउने काम भइरहेको छ । अब ठूलो पहिरो नखसेमा साँझसम्म पन्छाएर सवारी सञ्चालनमा ल्याइने छ । सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका उपकरण पन्छाउने काममा प्रयोग भइरहेको उहाँले जानकारी दिनुभयो । रासस