Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

राष्ट्रपति उमेदवारमा माधव नेपालको इन्ट्री ! ओलीले नै अघि सारेका हुन् ?

राष्ट्रपति उमेदवारमा माधव नेपालको इन्ट्री ! ओलीले नै अघि सारेका हुन् ?

इच्छाकामना न्युज

९, फाल्गुण २०७९
राष्ट्रपति उमेदवारमा माधव नेपालको इन्ट्री ! ओलीले नै अघि सारेका हुन् ?
images

काठमाडौं । राष्ट्रपति चुनावका लागि यही फागुन १३ गते उमेदवारी दर्ताको कार्यतालिका छ । 

images
images

कुनै पनि दलले एकल रुपमा राष्ट्रपतिमा आफ्नो उमेदवारलाई जिताउन सक्ने अवस्था ‘इलेक्ट्रोरल कलेज’को  अंक गणितले दिएको छैन । 

यस्तो अवस्थामा संसद्का प्रमुख दल कांग्रेस र एमालेले आफ्ना उमेदवारलाई निर्वाचित गराउने दाबी गरिरहेका छन् । 

एमालेले सत्तारुढ दलका तर्फबाट आफ्नो पार्टीले उठाउने उमेदवारले जित्ने दाबी गरिरहँदा कांग्रेसले पुरानो गठबन्धन ब्युँताएर आफ्नो उमेदवारलाई जिताउने दाबी गरिरहेको छ । 

प्रमुख दुई दलको गठबन्धनमा निर्णायक भने प्रतिनिधिसभामा ३२ सिट मात्र रहेको माओवादी केन्द्र छ । 

माओवादी केन्द्रले संघीय सरकारको नेतृत्व सम्हालिरहेको छ । 

यस्तै राष्ट्रपति चुनावमा पनि उसले राष्ट्रिय सहमतिको अडान नछोडदा सत्तामा सँगै रहेको एमाले झस्किएको छ भने माओवादीसँग सहमति हुन नसक्दा सत्ता गुमाएको नेपाली कांग्रेस भने आशावादी देखिन्छ । 

अहिलेसम्म कांग्रेसबाट राष्ट्रपतिमा बढी चर्चा भएको नाम रामचन्द्र पौडेल नै होे । कांग्रेसले राष्ट्रपति पाउँदा उमेदवारका विषयमा निर्णय गर्न सहज हुने नेताहरुको टिप्पणी छ ।

तर, पछिल्लो समय कृष्णप्रसाद सिटौलाले पनि आफ्नो सक्रियता बढाएका छन् । र, राष्ट्रपतिको उमेदवार बन्ने कसरतमा उनको चर्चा सुरु भएको छ । 

नेकपा एमालेबाट पूर्वसभामुखसमेत रहेका उपाध्यक्ष सुवास नेम्वाङदेखि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल हुँदै वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्रीहरु अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलसम्मको चर्चा भइरहेको छ । तर, एमालेकै नेताहरु राष्ट्रपतिको उमेदवार को हो भन्यो भने –अध्यक्ष ओलीलाई मात्र थाहा छ भन्ने जवाफ दिन्छन् । 

उनै ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेट गरेर पार्टी एकतासहित राष्ट्रपतिको उमेदवार बन्न आग्रह गरेको स्रोत बताउँछ ।

नेपाल निकट एक नेताले भेटबारे पुष्टि गर्दै भने, “धेरै नै कुरा भएको छ तर अहिले सार्वजनिक गर्ने अवस्था भएको छैन ।”

स्रोतका अनुसार ओलीले नेपाललाई राष्ट्रपति उमेदवार बनाउनुअघि पार्टी एकता गर्ने प्रस्ताव राखेको स्रोतले जानकारी दियो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले पुसको पहिलो साता नै कांग्रेसलाई प्रधानमन्त्री आफू हुने र राष्ट्रपतिमा गैरदलीय व्यक्तिलाई अघि सार्ने प्रस्ताव लगेका थिए । सो प्रस्तावमा कांग्रेस झस्किएको पछिल्लो समय राजनीतिक नेतृत्त्वभन्दा बाहिर जान नहुने निष्कर्ष माओवादीले पनि निकालेको छ ।

दाहालले पहिले पुरानै गठबन्धनबाट नेपाललाई अघि बढाउन खोजेको भए पनि ओलीले उक्त प्रस्ताव गरेपछि झस्किएको स्रोत बताउँछ ।

आइतबार बिहान बालुवाटारमा भएको कांग्रेस पदाधिकारीहरुसँगको बैठकमा प्रधानमन्त्री प्रचण्डले माधव नेपालको नाम लिएका थिए ।

सोही दिनमा नै ओलीले नेपाललाई भेटेको स्रोत बताउँछ ।

तर, नेपाललाई उमेदवार बनाउने विषयमा एमालेले नेकपा एसका कुनै पनि तहसँग छलफल नगरेको नेकपा एसका नेताहरु बताउँछन् ।  

“राष्ट्रपतिमा माधव नेपाललाई नै एमाले अध्यक्ष ओलीले अघि बढाए भने के गर्ने भनेर प्रचण्डजीले कांग्रेस नेताहरुलाई सोध्नुभएको रहेछ,” नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, “त्यसको जवाफ कांग्रेस नेताहरुले दिनुभएको रहेनछ ।” 

उनले सबैले सम्मानका साथ राष्ट्रपतिको उमेदवार बनाए राष्ट्रपति बन्नका लागि भने माधव नेपाल तयार भएको बताए । 

“अहिले राष्ट्रपतिको प्रस्ताव आएको होइन । सबैले प्रस्तव गर्छन् भने उहाँ राष्ट्रपति बनेर देशको अविभावकीय जिम्मेवारी सम्हाल्न तयार हुनुहुनेछ,” पाण्डेले भने, “उहाँलाई सम्मानका साथ राष्ट्रपति बनाउने कुराले संगठनलाई पनि सकारात्मक ऊर्जा दिनेछ । नेकपा एसका सबै तहका कार्यकर्तामा त्यसले उत्साह नै ल्याउनेछ ।” 

नेकपा माओवादी केन्द्रले भने सके राष्ट्रिय सहमति कायम गर्ने, नभए अधिकतम सहमति कायम गरेर राष्ट्रपति उमेदवार बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

सो पार्टीका एक पदाधिकारीले भने, “पुस १० गतेको अवस्थामा हामी छैनौँ, त्यसबेला सरकारमा रहेका पार्टी बाहिरिएका छन् । बाहिर रहेकाले समर्थन गरेका छन् । यस्तो अवस्थामा हामीले पनि सहमति कायम गर्नुपर्ने हुन्छ ।”

त्यसो भए पुस १० को सहमति भत्किएको हो ? भन्ने विषयमा उनले अहिले ‘ठ्याक्कै त्यही अवस्था’ नरहेको प्रतिक्रिया दिए ।

images
प्रकाशित मिति :फाल्गुण ९, २०७९ मंगलवार - ०९:१७:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology