गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–९, नाम्जुङमा दुई बर्षअघि नै निर्माण सम्पन्न भइसक्नु पर्ने खानेपानी आयोजना अझैसम्म पनि अलपत्र परेको छ ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाले करिब साढे दुई करोड रुपैयामा ठेक्का लगाएको खानेपानी आयोजना २०७८ असारमा नै निर्मांण सम्पन्न गर्नुपर्ने भएपनि अहिलेसम्म निर्माण सम्पन्न हुन सकेको छैन । ठेकेदार कम्पनी मृत सञ्जिवनी नाना जेभीले उक्त आयोजना निर्माणको जिम्मा पाएको थियो । पहिलो पटक तोकिएको समयमा काम सम्पन्न गर्न नसकेपछि कार्यालयले दुई पटकसम्म म्याद थप गर्दा समेत ठेकेदार कम्पनी खानेपानी आयोजना निर्माण नगरी अलपत्र पारेर छोडेको छ ।
प्रमुख पौडेलले ठेकेदार कम्पनीले पाइप खरिद, ट्रिटमेन्ट प्लान्ट निर्माणको काम मात्र सम्पन्न गरेको बताउनुभयो । ‘काम सम्पन्न गरे अनुसार आधारमा कार्यालयले अहिलेसम्म ठेकेदार कम्पनीलाई १ करोड ३० लाख रुपैया मात्र भुक्तानी गरिसकेको छ, उहाँले भन्नुभयो, ‘त्यस बाहेक एघार लाख रुपैया ठेकेदार कम्पनीले पेस्की स्वरुप बुझिसकेको छ ।’ प्रमुख पौडेलले अझै नियमित काम गरे असार मसान्तसम्म काम सम्पन्न गर्न सक्ने अबस्था रहेको समेत बताउनुभयो ।
‘कार्यालयका तर्फबाट हप्तामा एक पटक फोन गरेर पनि काम समयमा सम्पन्न गर्न भनेको भनै छौ, उहाँले भन्नुभयो, ‘टेलिफोनमा मात्र नभएर दुई पटकसम्म त लिखित रुपमा पनि पत्र पठाई सकिएको छ ।’ आयोजना निर्माण सम्पन्न भए कार्यालयले आबश्यक बिद्युतीकरणका लागि ठेक्का लगाउने तयारी गरिरहेको प्रमुख पौडेलले बताउनुभयो ।
आयोजनाबाट पधेरा गाउँ, खोलापारी, माथिल्लो आरुबोटे, डाँडागाउँ लगायतका क्षेत्रका करिब २ हजार ३ सय ७७ घरघुरीमा खानेपानी पु¥याउने लक्ष्य रहेको थियो । ठेकेदार कम्पनी नानाजेभीले भने कोरोनाका कारण आयोजना निर्माणमा ढिलाई भएको दावी गरेको उहाँले जानकारी दिनुभयो ।