चितवन । गुरुङ समुदायको धार्मिक संथाको रुपमा परिचित तमू प्ये ल्हु संघ चितवनले इच्छाकामनाका एक जना पत्रकार र एक जना खेलाडीलाई सम्मान गरेको छ । संघले तमू ल्होसारको पावन अवसरमा एक कार्यक्रमको आयोजना गरि शुक्रबार नारायणी नदी किनारमा इच्छाकामना गाउँपालिकाका पत्रकार इच्छाकामना एफएमका स्टेशन प्रमुख दान बहादुर गुरुङ र तोक्वान्दो खेलाडी सुप्रिका गुरुङलाई सम्मान गरेको हो ।
विगत १४ वर्षदेखि इच्छाकामनामा रहेर सञ्चारमाध्यममा क्रियासिल रही तमू समुदायको धर्म संस्कार संस्कृति संरक्षणमा उल्लेखनिय योगदान गरेकोमा पत्रकार दान बहादुरलाई र तोक्वान्दो खेल मार्फत राष्ट्रिय अन्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भै पदक जितेर समुदायको गरिमा उच्च बनाउन सफल भएकोमा सुप्रिकालाई सम्मान गरिएको तमू प्ये ल्हु संघ चितवनका अध्यक्ष बिक्रम च्हम्रु तमूले जानकारी दिए ।
यस्तै कार्यक्रमा तमू प्ये ल्हु संघ चितवनको उन्नती र विकाशका लागि योगदान दिने विभिन्न १३ व्यक्तिहरुलाई समेत सम्मान गरिएको थियो भने केहि समय पहिले सातौ दक्षिण एशियाली खेलमा कराते तर्फ स्वर्ण पदक जित्ने चितवनका खेलाडी पार्वती गुरुङलाई समेत सम्मानित गरिएको थियो ।