कुरिनटार, २१ माघ । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ४ का निर्वाचित वडाध्यक्ष होम बहादुर राना मगरको निधन प्रति नेपाली कांग्रेस इच्छाकामनाले शोक व्यक्त गरेको छ। आज बुधबार एक शोक वक्तव्य जारी गर्दै कांग्रेसले वडाध्यक्षको निधन प्रति शोक व्यक्त गरेको हो।
कांग्रेस इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठद्वारा हस्ताक्षरीत शोक वक्तव्यमा तरुण दलका दारेचोक गाविस पूर्व अध्यक्ष समेत रहेका वडाध्यक्ष रानाको निधनले नेपाली कांग्रेस पार्टीलाई अपुरणीय क्षति पुगेको जनाएको छ। शोकको यो घडीमा नेपाली कांग्रेस इच्छाकामना र मातहतका सम्पूर्ण भातृ संस्थाहरुको तर्फबाट मृतआत्मा प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकलाई शक्तिमा बदल्दै मृतकको सपना पुरा गर्न सम्पूर्ण पार्टी पंक्ति लागिपर्ने शोक वक्तव्यमा उल्लेख छ।
यस्तै मृतक वडाध्यक्ष रानाको पार्थिव शरिरमा नेपाली कांग्रेस पार्टीको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्न भोली बिहिबार दिउँसो १२ बजे कुरिनटारमा रहेको पार्टी कार्यालय अगाडी शव राख्ने भएको कांग्रेस इच्छाकामनाका सभापति कृतिकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। मृतकको शवमा श्रद्धाञ्जली अर्पण गर्नका लागि सम्पुर्णलाई पार्टी कार्यालयमा उपस्थित हुन उहाँले आग्रह गर्नुभयो।
वडाध्यक्ष राना २०७४ वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट उम्मेदवार बनि निर्वाचित भएका थिए। कलेजोमा समस्या देखिएपछि लामो समयदेखि उपचारत रहेका वडाध्यक्ष रानाको उपचारकै क्रममा मंगलबार भारतको हरियाणा स्थित मेदान्त अस्पतालमा निधन भएको थियो। मृतकको शव नेपाल भोली बिहानसम्ममा नेपाल ल्याईपु¥याउने पारिवारले जानकारी दिएको छ।