धादिङ । धादिङको गजुरी गाउँपालिका १ स्थित गलौदीमा एकाबिहानै रात्रिबस दुर्घटना भएको छ । कपिलवस्तुबाट काठमाडौं जादैँ गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस आज बिहान करिब पौने ५ बजेतिर त्रिशुली नदीमा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा परि कम्तीमा ६ जनाको मृत्यु भएको र ३० भन्दा बढी घाइते भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिनुभयो । बस सडकबाट करिब १०० मिटर तल त्रिशूली नदीमा खसेको छ।
कपिलवस्तुबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको मृत्यु भएको छ । आज बिहान ५ बजे बस अनियन्त्रित भई त्रिशुली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ३० भन्दा बढी घाइते भएका छन् ।
बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सन्तु जैसवालले जानकारी दिनुभयो ।
उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ । उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।