Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नयाँ वर्षः सौराहाका होटलमा शतप्रतिशत अकुपेन्सी

नयाँ वर्षः सौराहाका होटलमा शतप्रतिशत अकुपेन्सी

रासस

१, बैशाख २०८१
नयाँ वर्षः सौराहाका होटलमा शतप्रतिशत अकुपेन्सी

भरतपुर । देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक चितवनस्थित सौराहा नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् ।

images

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार सौराहामा ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत बाह्य पर्यटक छन् । सौराहाका होटल भरिएपछि रत्ननगर, भरतपुरलगायतका बजार क्षेत्रका होटलमा समेत पर्यटक बसेका छन् । सात हजार पर्यटकको क्षमता रहेको सौराहामा शुक्रबार झण्डै नौ हजार पर्यटक आएको गिरीले बताउनुभयो ।

“यतिबेला दैनिक पाँच सय चिनियाँ पर्यटक सौराहा घुम्न आएका छन्, भारतीय र युरोपका देशबाट आउने पर्यटकको सङ्ख्या पनि उत्तिकै छ”, उहाँले भन्नुभयो । तीन महिनायता चिनियाँ पर्यटकको सङ्ख्या उल्लेख्य रहेको उहाँले बताउनुभयो ।

उहाँले चितवनसँग देशका प्रमुख सहर जोड्ने सडक सुधार गर्न सके पर्यटकको झन् बढ्ने बताउनुभयो । विसं २०८१ मा घुमौँ सौराहा अभियान चलाउने योजना रहेको भन्दै उहाँले अब पर्यटन व्यवसायमा उत्साह जाग्दै जान थालेको बताउनुभयो ।

क्षेत्रीय होटल सङ्घ सौराहाका निवर्तमान अध्यक्ष दीपक भट्टराईले नयाँ वर्षले सौराहाको पर्यटन व्यवसाय पुरानै लयमा फर्केको अनुभूति भएको बताउनुभयो । उहाँले पछिल्लो तीन महिनामा पर्यटकको आवागमन उल्लेख्य रहेको भन्दै नयाँ वर्षमा झन् धेरै पर्यटक आउने अपेक्षा गरिएको बताउनुभयो । शुक्रबार सौराहामा दुई–तीन ठाउँमा साङ्गीतिक कार्यक्रम आयोजना गरिएको थियो ।

सौराहाका रेष्टुराँमा विभिन्न खानाका परिकारको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको रेवान सौराहाका अध्यक्ष धु्रव गिरीले बताउनुभयो । राप्ती किनार पर्यटकले भरिएको छ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएका सौराहा, पटिहानी, जगतपुर, मेघौलीलगायतका स्थानमा समेत पर्यटकको आगमन बढेको व्यवसायीले बताएका छन् । शुक्रबार नारायणी नदी किनार र भरतपुरका विभिन्न ठाउँमा समेत साङ्गीतिक कार्यक्रम भएका छन् ।

सौराहामा मात्र साना(ठूला गरी एक सय ४६ होटल छन् भने जगतपुर र मेघौलीमा समेत सुविधायुक्त होटल छन् । दैनिक सात हजार बढी पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । सयभन्दा बढी रेस्टुराँ र सोही सङ्ख्यामा साना पर्यटन व्यवसाय सञ्चालित छ । यहाँ वार्षिक दुई लाख हाराहारी पर्यटक आउँछन् ।

चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघलगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । हात्ती चढेर जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको मुख्य उद्देश्य रहन्छ ।

images
प्रकाशित मिति :बैशाख १, २०८१ शनिवार - २२:१७:०० बजे
सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology