काठमाण्डौ, २४ माघ । राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको दोस्रो चरणका खेलहरु आजबाट सुरु हुँदैछ। दोस्रो चरणका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलाइने आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
आजको खेल नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र चौदण्डीगढी नगरपालिका उदयपुर बीच हुनेछ। दोस्रो चरणको अन्तिम खेल फागुन ७ गते त्रिपुरेश्वर स्थित दशरथ रङगशालामा खेलाइने एन्फाका महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभएको छ।
कुल सात टोली सहभागी राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लव १८ अङ्क सहित शीर्ष स्थानमा रहेको छ। नेपाली सेनाको त्रिभुवन आर्मी क्लब १३ अङ्क सहित दोस्रो, विराटनगर महानगरपालिका १० अङ्क सहित तेस्रो तथा नेपाल पुलिस क्लब ८ अङ्क सहित चौथो स्थानमा छन्।