काठमाण्डौ, २६ माघ । नेपालले दिगो विकास लक्ष्यको पहिलो लक्ष्य गरिबी निवारण तथा असमानता घटाउनेमा निकै राम्रो प्रगति गरेको पाइएको छ। राष्ट्रिय योजना आयोगले हिजो सार्वजनिक गरेको ‘दिगो विकास लक्ष्य प्रगति समीक्षा २०१६/२०१९ प्रतिवेदन’ अनुसार नेपालको राष्ट्रिय गरिबी १८ दशमलव ६ प्रतिशतमा र बहुआयामिक गरिबी २८दशमलव ६ प्रतिशतमा झरेको छ।
प्रतिवेदनमा उद्योग, पूर्वाधार तथा नवप्रवर्तन, उत्पादन तथा वितरणका लक्ष्यमा भने सोचेजस्तो राम्रो प्रगति गरेको नदेखिए पनि अन्य लक्ष्यमा सन्तोषजनक देखिएको छ। प्रतिवेदन अनुसार वास्तविक कूल गार्हस्थ उत्पादन वृद्धि ५दशमलव ६ प्रतिशत रहेको छ । यसमा कूल जनसङ्ख्याको तल्लो ४० प्रतिशतको उपभोग र आम्दानीको अनुपात पनि बढेकाले त्यो निकै उत्साहप्रद रहेको छ।
आयोगका उपाध्यक्ष तथा दिगो विकास लक्ष्य कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेल र राष्ट्रियसभाको विधायन समितिका सदस्य डा. विमला राई पौड्यालले संयुक्तरुपमा सार्वजनिक गर्नुभएको प्रतिवेदनमा नेपालको खाद्य सुरक्षा सूचकाङ्क ४६ रहेको उल्लेख छ।नेपालको शिक्षातर्फ प्राथमिक तहमा भर्ना दर ९७दशमलव २ प्रतिशत पुगेको छ भने प्राथमिक तह पूरा गर्ने विद्यार्थी ८९दशमलव ५ प्रतिशत पुगेको छ। यस्तै महिला सशक्तीकरणका क्षेत्रमा नेपालले राम्रो सुधार गरे पनि समान कामका लागि ज्यालाको असमानता, बालविवाह तथा महिला हिंसाका घटना उल्लेख्य रहेकाले यसले सशक्तीकरणमा भएको प्रगतिलाई केही छायाँमा पारेको प्रतिवेदनमा समेटिएको छ।
यस्तै कूल जनसङ्ख्याको ८८ प्रतिशत जनसङ्ख्याको आधारभूत खानेपानीमा र २१ प्रतिशतको सुरक्षित खानेपानी एवं ८५ प्रतिशतको शौचालयमा पहुँच पुगेको देखिन्छ। प्रतिवेदनले यो अवधिमा नेपालको आन्तरिक स्रोत परिचालनमा राम्रो सुधार भएको र प्रत्यक्ष वैदेशिक लगानी पनि सुधार भइरहेको पनि देखाएको छ।