तनहुँ । तनहुँको सदरमुकामस्थित व्यास नगरपालिका डेंगी संक्रमणको ‘हट स्पट’ बन्दै गएको छ । पछिल्लो दुई हप्तामा नगरपालिका क्षेत्रभित्र डेंगी संक्रमण ह्वात्तै बढेको छ । स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा व्यास नगरपालिकामा १ हजार ५ सय ७२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
नगरपालिका क्षेत्रमा पछिल्लो हप्ता ६ सय ८४ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । गत असोज १५ मा नगरपालिकामा ८ सय ८८ जनामा डेंगी पुष्टि भएकामा कात्तिक ३ सम्म १ हजार ५ सय ७२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । ‘गत असोज दोस्रो साता परेको झरीसँगै जिल्लाको सदरमुकामस्थित व्यास नगरपालिकामा डेंगी संक्रमणको ग्राफ दैनिक बढ्दै गएको छ,’ उनले भने, ‘गत वर्ष व्यास नगरपालिका क्षेत्रमा महामारीकै रूपमा डेंगी संक्रमण फैलिएको थियो ।
यस वर्ष पनि पछिल्लो दुई हप्ता डेंगी संक्रमण असामान्य रूपमा फैलिन थालेको छ ।’ जिल्लामा गत असार पहिलो सातादेखि हालसम्म ४ हजार ५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ भने एक जना पुरुषको मृत्यु भएको छ । असार महिना लागेलगत्तै आँबुखैरेनी गाउँपालिकाको आँबुखैरेनी बजार क्षेत्रमा डेंगी संक्रमण फैलिएको थियो । दैनिक एक सय बढीको संख्यामा संक्रमण फैलिँदा जनजीवन प्रभावित हुन पुगेको थियो ।