मुग्लिङ, कार्तिक २६ । गोरखा जिल्लाको शहिद लखन गाउँपालिका–३ स्थित त्रिवेणी भगवती मन्दिर परिसरमा आज कार्तिक २६ गते बेलुका देखि रातभर एकादशी मेला लाग्दैछ ।
हरेक बर्ष झै यस वर्ष पनि हरिबोधनी एकादशीको अघिल्लो रात मुग्लिन पारी गोरखामा भब्य किसिमले मेला संचालनको तयारी भैरहेको त्रिवेणी भगवती धार्मिक तथा पर्यटकिय स्थल विकास व्यवस्थापन समितिले जनाएको छ ।
मस्र्याङ्गदी र त्रिशुली नदीको संगमस्थलमा रहेको त्रिवेणी भगवती मन्दिर परिसरमा हुने विविध सांस्कृतिक कार्यक्रम – मेलामा चर्चित लोकदोहोरी गायिका ज्योति मगर, चर्चित लोकदोहोरी गायक चन्द्र परियार, चर्चित लोकदोहोरी गायक विवेक धिताल, चर्चित लोकदोहोरी तथा कौरा गायक पृथ्वी गुरुङ्ग, गायक गोविन्द बाबु रिजाल, गायक पवन श्री परियार, गायक आशिष गुरुङ्ग, गायिका उर्मिला मगर, गायक सरोज गुरुङ्ग लगाएत राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुको विशेष प्रस्तुती, विभिन्न खानाका परिकार, विभिन्न रमाईलो खेलहरु मुख्य आकर्षहरु रहेको श्री कालिका युवा क्लकाका अध्यक्ष बाबु गुरुङ्गले जानकारी दिनुभयो ।
यसैगरी मन्दिर परिसर एवं त्रिशुली नदी किनारमा बेलुकीदेखि बत्ती बाल्ने, पुजापाठ गर्ने र भोलि बिहान पञ्चेबाजा बजाएर तोरण टाँगिने कार्यक्रम रहेको अध्यक्ष गुरुङ्गले बताउनुभयो । रातभर जागा बसेर भक्तजनहरु फूलको डोली लिएर फूल तार्न, बत्ती बाल्न त्यहाँ पुग्ने गर्छन ।