नवलपुर, २ मङ्सिर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडकोट–२ स्थित नारायणी नदीकिनारमा सञ्चालन भइरहेको दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव–२०८१ मा जातीय संस्कृति संरक्षणको प्रयास गरिएको छ । महोत्सवमा नवलपुरमा रहेका विभिन्न आदिवासी जनजातिहरूको मौलिक संस्कृति संरक्षण गर्न उनीहरूको परम्परागत घर नै बनाएर महोत्सव पुग्नेलाई सांस्कृतिक बोध गराइएको छ ।
महोत्सवमा थारु, मगर, गुरुङ, तामाङ र चेपाङ जातिको घर निर्माण गरी उनीहरूले प्रयोग गर्ने परम्परागत घरायसी उपकरण प्रदर्शनीसँगै मौलिक खाना प्रदर्शनी गरिएको छ ।
गत कात्तिक २६ गतेदेखि सञ्चालन भइरहेको महोत्सवमा चेपाङ जातिको सांस्कृतिक घरसँगै उनीहरूको पोसाक, उनीहरूको खाद्यान्न बनतरुल, गिठा, भ्याकुर, पिँडालु र स्याखु राखिएको छ । त्यस्तै, मगर जातिको सांस्कृतिक घरमा उनीहरूले प्रयोग गर्ने औजारहरू न्हाङली (नाङ्ग्लो), पिराँखु (पेरुङ्गो), खुर्पा ट्याक, खँचरी, मुजुरा, जाँतो, ओदान, ढिकी राखिएको छ । त्यसैगरी, मगर जातिको पर्वहरूमा खाइने मासको बटुक त्यहीँ पकाउँदै आगन्तुकहरूको स्वागत गर्ने गरिएको नेपाल मगर सङ्घ गैँडाकोट नगर अध्यक्ष मस्राङ्गी मगरले बताए ।
महोत्सवको सांस्कृतिक समितिका संयोजकसमेत रहेका मगरले जनजातिहरूको संस्कृति लोप हुँदै गएकाले नयाँ पुस्तालाई यसबारे बुझाउन तथा संरक्षणका लागि स्थानीय सरकारलाई ध्यानाकर्षण गराउन महोत्सवमा सांस्कृतिक घरहरू राखिएको बताए । जातीय सांस्कृतिक घरसँगै ती जातिहरूले प्रयोग गर्ने परम्परागत सामग्री उपलब्ध भएसम्म राखिएको उनको भनाइ छ । “नयाँ पुस्ताले चासो नदिँदा आदिवासी जनजातिहरुको संस्कृति हराउँदै गइरहेको छ” उनले भने, “हाम्रो प्रयासले नयाँ पुस्तालाई संरक्षणप्रति जागरण आउनसक्छ भने अन्य समुदायका व्यक्तिहरूलाई हाम्रो संस्कृति बुझ्न सहज हुन्छ ।”
नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले आफूहरू आर्थिक उपार्जनसँगै संस्कृति संरक्षणप्रति पनि सचेत रहेको बताए । “जातजातिहरुको सांस्कृतिक घरमा अवलोकनसँगै उनीहरूको संस्कृतिबारे र प्रयोग गर्ने सामग्रीको बारेमा समेत जानकारी लिन पाइन्छ” उनले भने, “जातीय खानाहरूसमेत सांस्कृतिक घरमा राखिएकाले फरक फरक संस्कृति एकैठाउँमा बुझ्न पाउने वातावरणसमेत बनेको छ ।” सांस्कृतिक घरमा ती जातिले खाने परम्परागत खाद्यान्नहरू प्रदर्शन तथा बिक्रीका लागि समेत राखिएको उनले जानकारी दिए ।