Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न ‘मिनी ग्रेटवाल’ निर्माण

बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न ‘मिनी ग्रेटवाल’ निर्माण

इच्छाकामना न्युज

९, मंसिर २०८१
बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न  ‘मिनी ग्रेटवाल’ निर्माण

अमरराज नहर्की

images

तनहुँ, मङ्सिर ९ गते । पहाडकी रानी उपनामले प्रख्याति कमाएको बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न चीनको ग्रेटवालको झल्को दिने गरी ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको बन्दीपुरमा नयाँ पूर्वाधार थप गर्ने योजना अनुरूप गाउँपालिकाद्वारा मिनी ग्रेटवाल निर्माणलाई तीव्रता दिइएको हो । 

तनहुँको पर्यटकीय नगरी बन्दीपुर आउने पर्यटकको बसाइँ लम्ब्याउन निर्माण सुरु गरिएको मुकुन्देश्वरी पदमार्गले गति लिएको छ । बन्दीपुर गाउँपालिका–२, थानीमाई मन्दिरबाट सुरु गरिएको उक्त पदमार्ग निर्माणले गति लिएको हो । यो पदमार्गलाई ‘मिनी ग्रेटवाल’ का रूपमा समेत प्रचारप्रसार गरिएको छ । थानीमाई मन्दिरबाट निर्माण सुरु भएको पदमार्ग चुलीडाँडामा पुगेर टुङ्गिने छ । आगामी दिनमा यस पदमार्गलाई मुकुन्देश्वरी गढीसम्म जोडिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । 

थापाका अनुसार तदारुकताका साथ हाल काम भइरहेको छ । हाल दुवैतर्फ पर्खाल लगाउने, सिँढी बनाउने, पर्खालको दायाँबायाँ भित्तामा स्लेट ढुङ्गा छाप्नेलगायत काम भइरहेको छ । थापाले भन्नुभयो, “ठेकेदारको काममा ढिलाइ भएको थियो । गाउँपालिकाले ताकेता गरेसँगै अहिले कामको गति बढेको छ ।” 

पदमार्गको दुरी दुई किलोमिटर रहेको र ८० प्रतिशत काम पूरा भएको थापाले जानकारी दिनुभयो । यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना गाउँपालिकाको छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि १९ करोड लागत योजना बनाइएको छ । 

थापाका अनुसार यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा सयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गर्ने योजना छ ।  

विश्वको प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने थापाले विश्वास व्यक्त गर्नुभयो । मुकुन्देश्वरी डाँडा तत्कालीन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहने छ । बन्दीपुरमा वार्षिक एक लाखभन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि १९ करोड रुपियाँ लागत अनुमान गरिएको अध्यक्ष थापाले बताउनुभयो । 

यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, नौ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा सयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्कलगायत संरचना निर्माण गर्ने योजना छ । विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । 

काठमाडौँ, पोखरा र सौराहा जस्ता पर्यटकीय केन्द्रका बिचमा रहेको बन्दीपुरलाई यिनै केन्द्रका रूपमा विकास गर्ने गाउँपालिकाको योजना छ । तनहुँको डुम्रे बजारबाट नौ किलोमिटर नागबेली उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा हेर्न सकिन्छ । पश्चिमको धवलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, बुद्ध हिमालदेखि पूर्वका गणेश हिमाल र लाङटाङ हिम शृङ्खलाका सयौँ चुचुरा बन्दीपुरबाट देख्न सकिन्छ । ढुङ्गाले छाइएका कलात्मक घर, नेवारी संस्कृति, सफा र राम्रो बाटो, थानीमाई खड्गमाई, विन्ध्यवासिनी मन्दिर, तीनधारा, रानीवन, फराकिलो टुँडिखेल, सहिद पार्कलगायत बन्दीपुरका आकर्षण हुन् । 

बजार वरपर गुरुङ समुदायको घाँटु, मगर समुदायको कौरा, स्थानीय खानाका परिकारले पर्यटकलाई लोभ्याउँछ । नेपालको उत्कृष्ट हिल स्टेसन मानिने बन्दीपुरमा यहाँको स्थानीय नेवार समुदायबाट विभिन्न पर्वमा प्रस्तुत गरिने खड्गजात्रा, गाईजात्रा, रोपाइँजात्रा, लाखे नाचका लागि जिल्लामै अग्रस्थानमा छ । बन्दीपुर प्याराग्लाइडिङका लागि पनि प्रख्यात ठाउँ हो ।  

images
प्रकाशित मिति :मंसिर ९, २०८१ आइतवार - १५:५५:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology