Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

लोप हुँदै कुसुन्डा भाषा र संस्कृति

लोप हुँदै कुसुन्डा भाषा र संस्कृति

images

इच्छाकामना न्युज

१०, मंसिर २०८१
लोप हुँदै कुसुन्डा भाषा र संस्कृति
images

अमरराज नहर्की

तनहुँ, मङ्सिर १० गते । संरक्षणको अभावमा कुसुन्डा जातिको भाषा र संस्कृति लोप हुँदै गएको छ ।

जाति लोप हुँदै गएसँगै उनीहरूको भाषा र संस्कृति पनि हराउँदै गएको हो । व्यास नगरपालिका–१०, डिहीगाउँ बस्ने इन्द्रमाया कुसुन्डा थोरै मात्र कुसुन्डा भाषा जानेको बताउनुहुन्छ ।

आफ्नो भाषा लोप भएर जाने चिन्ता भएर श्रीमान् राजामामाले केही भाषा सिकाए पनि बोल्ने मान्छे नहुँदा भुल्दै गएको इन्द्रमायाले बताउनुभयो । “मैलै केही जानेकी छु तर छोरीलाई बोल्न आउँदैन । भाषा बोल्ने अरू कोही पनि नभएकाले बिर्संदै गएकी छु,” इन्द्रमायाले भन्नुभयो ।

पति राजामामाको तीन वर्षअघि निधन भएयता इन्द्रमायाले कुसुन्डा भाषा बोल्न पाउनुभएको छैन । कुसुन्डा भाषा पूरै बोल्न जान्ने राजामामाको २०७५ साल वैशाख ५ गते निधन भएको थियो ।

नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँको निवर्तमान अध्यक्ष वसुन्धरा घर्तीले राजामामालाई कुसुन्डा भाषाको पूरा ज्ञान भए पनि इन्द्रमायाले केही मात्र जान्नुभएको जानकारी दिनुभयो ।

राजामामाले कुसुन्डा केटी नपाएपछि फरक जातिसँग विवाह गरेकाले एक पुस्ताबाट अर्को पुस्तामा भाषा स्थानान्तरण गर्न समस्या परेकाले कुसुन्डा भाषा लोप हुने अवस्थामा पुगेको घर्तीले बताउनुभयो । राजामामाको एक मात्र छोरी सीमान्त हुनुहुन्छ तर सीमान्तलाई कुसुन्डा भाषा बोल्न आउँदैन ।

कुसुन्डा समुदायको आफ्ना मौलिक भाषा, संस्कृति, मूल्यमान्यता, रीतिथिति छन्, ती लोपोन्मुख अवस्थामा रहेकाले संरक्षण गर्न राज्यले ध्यान दिनुपर्ने घर्ती बताउनुहुन्छ । घर्तीले भन्नुभयो, “मातृभाषा र संस्कृतिको अनिवार्य अध्ययन गर्नुपर्ने नीति बनाउने हो भने कुसुन्डालगायतका अन्य भाषा र संस्कृतिको संरक्षण गर्न सकिन्छ, होइन भने गुगलमा मात्रै सीमित हुन्छ ।” विकासको गति, समयको परिवर्तन, सामाजिकीकरण, वन विनाश, गैरजातीय विवाह प्रणालीलगायतका कारणले भाषा र संस्कृति लोप हुँदै गएको नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्ले जनाएको छ ।

परिषद्का अनुसार जङ्गली जनावर सिकार गरेर र वनकै कन्दमूल खाएर जीवनयापन गर्ने कुसुन्डा आफ्नो मौलिकतालाई क्रमशः त्यागी समाजमा सम्मिलन हुँदै गएका छन् ।

यो जातिमा मानव जातिकै प्रारम्भिक अवस्थाको प्रतिनिधित्व गर्ने संस्कार थियो ।

तनहुँमा एक घरपरिवार मात्रै कुसुन्डा छन् । इन्द्रमायाको परिवारलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले एक रोपनी जग्गा खरिद गरी तीनकोठे घर निर्माण गरिदिएको छ ।

images
प्रकाशित मिति :मंसिर १०, २०८१ सोमवार - ०९:३१:१६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology