Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सगरमाथा क्षेत्र छोड्दै विदेशी पर्यटक, लुक्लामा घुइँचो

सगरमाथा क्षेत्र छोड्दै विदेशी पर्यटक, लुक्लामा घुइँचो

इच्छाकामना न्युज

११, मंसिर २०८१
सगरमाथा क्षेत्र छोड्दै विदेशी पर्यटक, लुक्लामा घुइँचो

सोलुखुम्बु । विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको छ ।

images

चिसो बढेसँगै पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो । पछिल्लो एक सातामा जहाजमार्फत सात सय ११ विदेशी पर्यटक लुक्ला ओर्लिंदा दुई हजार चार सय पर्यटकले सगरमाथा क्षेत्र छोडेका नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले जनाएको छ ।

कार्यालयका ‘एटिसी अफिसर’ सञ्जय श्रेष्ठका अनुसार मङ्सिर ४ गते दुई सय २३ जना भित्रिँदा तीन सय ६२, ५ गते एक सय १९ भित्रिँदा तीन सय २० र ६ गते ८० भित्रिँदा तीन सय ७४ जना विदेशी पर्यटक जहाजमार्फत लुक्लाबाट बाहिरिएका छन् । यस्तै मङ्सिर ७ गते ८८ भित्रिँदा तीन सय तीन, ८ गते ५३ पर्यटक भित्रिँदा चार सय ८१ जना, ९ गते एक सय ३६ भित्रिँदा तीन सय तीन जना र १० गते एक सय ३२ पर्यटक भित्रिँदा दुई सय ५७ जना बाहिएका प्राधिकरणको तथ्याङ्क छ ।

चिसो अधिक बढेकाले विदेशी पर्यटक सगरमाथा क्षेत्रबाट भ्रमण छोट्याएर फर्किनेक्रम उच्च रहेको पर्यटन व्यवसायी डिकबहादुर दर्नालले बताए । कतिपय पर्यटक चिसोले गर्दा माथिल्लो क्षेत्र नपुगी लुक्ला नाम्चेबाट फर्कने गरेका उनको भनाइ छ । दर्नालले भने, ‘पानी जम्न थालेपछि खासै विदेशीहरू माथि जान मान्दैनन् । अहिले चिसो ह्वात्तै बढेको छ, त्यसैले लामो दिनको भ्रमणमा आएकाहरू दिन छोट्याएर फर्किने गरेका छन् । नाम्चेभन्दा माथिल्लो क्षेत्रमा कात्तिकको सुरुआतमा सामान्य हिमपात भएकाले चिसो बढेको उहाँको अनुमान छ ।

लुक्लाबाट फर्किने जहाजमा यात्रुको घुइँचो ‘सिजन (पर्यटकीय मौसम) ढल्किएसँगै काठमाडौँ र रामेछापबाट जहाजहरू खाली आउछन् तर यहाँबाट फर्किंदा जहाजमा यात्रुको घुइँचो हुन्छ । कतिपय अवस्थामा टिकट पाउन मुस्किल छ, यो बेला भ्रमण छोट्याएर फर्किने धेरै विदेशीहरू भएकाले यात्रुको चाप थेगिनसक्नु छ’, प्राधिकरणका एटिसी अफिसर श्रेष्ठले भने । उनका अनुसार काठमाडौँ तथा रामेछापको मन्थलीबाट कार्गो लिएर आएका जहाजहरूले पर्यटक लिएर फर्कने गरेका छन् । लुक्ला आउने पर्यटक यतिबेला सीमित भएकाले अधिकांश जहाजहरूले कार्गो सामग्री लिएर आउने गरेका नागरिक उड्डययन प्राधिकरण लुक्लाले जनाएको छ ।

यही कारणले पनि फर्किने यात्रुले विमानको टिकट पाउन मुस्किल पर्ने गरेको व्यवसायीहरूले बताउँछन् । लु क्ला आउने टिकट पाउने भए पनि यहाँबाट फर्किने जहाजको टिकट लिन चार/पाँच दिनअघिदेखि बुकिङ गर्नुपर्ने बाध्यता रहेको पर्यटक गाइड पेम्बा शेर्पाको भनाइ छ । उनका अनुसार विदेशी पर्यटकको चापका कारण नेपालीलाई टिकट पाउन मुस्किल हुने गरेको छ । लुक्लाबाट काठमाडौंका लागि विदेशी पर्यटकलाई २९ हजार चार सय ८० र नेपालीलाई ११ हजार भाडा निर्धारण गरिएको छ । भाडादर विदेशीको बढी भएकाले विमान कम्पनीको पहिलो प्राथमिकतामा विदेशी पर्ने गरेका यात्रुको गुनासो छ ।

जहाज टिकट पाउन मुस्किल भएपछि कतिपय पर्यटकहरू हिँडेर जिल्ला सदरमुकाम सल्लेरी हुँदै सल्लेरीबाट जीपमार्फत काठमाडौं फर्किने गरेका छन् । लुक्ला विमानस्थलमा अहिले झण्डै एक सयको हाराहारीमा जहाजले उडान भर्ने तथा अवतरण हुने गरेका छन् । निजी कम्पनीका तारा, सीता र समिट एयरलाइन्सले मात्रै उडान भर्ने गरेका प्राधिकरणले जनाएको छ । फर्किने पर्यटकको चाप बढेसँगै सुरक्षामा खटिएका नेपाल प्रहरी र पर्यटक प्रहरीको व्यस्तता पनि बढेको छ । कार्यक्षेत्रमा खटिएकाहरू पर्यटकको सुरक्षा र तथ्याङ्क लेखाजोखामा बढी व्यस्त रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताए । ‘सिजनमा भित्रिनेको चाप थियो, अहिले फर्किने विदेशी पर्यटकको चाप बढी भएकाले नेपाल प्रहरीलाई सोहीअनुसार उनीहरुको सुरक्षामा परिचालन गरिएको छ, चार हजार चार सय १० मिटरको उचाइमा रहेको दिङ्बोचेमा प्रहरी चौकी छ, त्यहाँका प्रहरीले सगरमाथा आधार शिविरसम्म गस्ती गर्छन्’, प्रहरी नायब उपरीक्षक घिमिरेले भने । सगरमाथा क्षेत्रमा वर्षको दुई सिजनलाई प्रमुख पर्यटकीय समय मानिन्छ । फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक र मङ्सिर मध्यसम्मलाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ । सगरमाथा क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्दछ । यो क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन् । विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयु, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुलगायत हिमचुचुरा पर्दछन् । निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो । सन् १९७९ देखि यस निकुञ्जलाई विश्वसम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् । यहाँको हिमाल आरोहण, ट्रेकिङ मात्र नभई सांस्कृतिक भ्रमणले वार्षिक हजारौँ पर्यटकलाई आकर्षित गर्दै आएको छ । तेङ्बोचे गुम्बासहित चर्चित धार्मिक क्षेत्रहरुले यस क्षेत्रको पर्यटक आकर्षणलाई वृद्धि गरेको स्थानीले बताएका छन् ।

images
प्रकाशित मिति :मंसिर ११, २०८१ मंगलवार - ०८:२४:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology