चितवन : चितवनमा तोकिएको भन्दा बढी भाडा लिने एउटा माइक्रो बसलाई ११ हजार ५०० रुपैयाँ जरिवाना तोकिएको छ ।
नारायणगढबाट कुरिनटारसम्मको प्रतियात्रु ५५० रुपैयाँ भाडा लिने बा २ ख ९३५३ नम्बरको माइक्रो बसलाई यातायात ऐन अनुसार जरिवाना गरिएको हो ।
२०० रुपैयाँ भाडा लाग्ने दुरीमा ५५० रुपैयाँ भाडा लिइएपछि उक्त माइक्रो बसलाई जरिवाना तिराउन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले यातायात व्यवस्था कार्यालय चितवनलाई लेखिपठाएको थियो ।
चालु आर्थिक वर्ष २०८१/८२ मा तोकिएको भाडादर भन्दा बढी भाडा लिने २७ वटा सवारीसाधनलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवम् प्रहरी निरीक्षक गायत्रीराज शर्माले जानकारी दिए ।
सार्वजनिक सवारी साधन सुरक्षित र मर्यादित बनाउने अभियान जारी रहेको बताउँदै उनले कोहि कसैले बढी भाडा लिने, सवारी साधनमा स्पष्ट रुपमा भाडादर नटाँस्ने, स्वरुप परिवर्तन गर्ने र नीजि सवारी साधनलाई सार्वजनिक सरह सञ्चालन गर्ने लगायत ट्राफिक नियम उल्लघंन गर्नेलाई कडाईका साथ कारबाही गरिने उनले बताए ।
ट्राफिक नियम उल्लघंन गरेको भेटिएमा १००, १०३ वा ९८५५०९०१०० मा सम्पर्क गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।