तनहुँ, १३ मंङ्सिर । जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई स्थगित गरेको छ ।
कार्यालयले बिहीबार सूचना जारी गर्दै परिचयपत्र वितरण कार्य रोकिएको जनाएको हो । कार्यालयमा प्राप्त भएका राष्ट्रिय परिचयपत्र जिल्लाका संम्बन्धि पालिकमा पठाई पालिकाबटै वितरण गर्ने कार्यका लागि पूर्व तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “अर्को सूचना जारी नभएसम्मका लागि वितरण कार्य स्थगित गर्ने निर्णय गरिएको छ ।” परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा चालिस हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् ।
राष्ट्रिय परिचयपत्रको फाराम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने कार्यालयका कम्प्युटर प्राविधिक प्रताप पण्डितले जानकारी दिनुभयो ।
नयाँ परिचयपत्रका लागि दैनिक एक सय २० देखि एक सय ५० जनासम्म आउने गरे पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने २५ देखि ३० जना मात्र आउने गरेको गरेका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई हजार ७०१ जनाले नयाँ फाराम दर्ता गरेका छन् भने दुई हजार पाँच जनाले परिचयपत्र लगेका छन् ।