गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा विगत एक महिनादेखि रात र बिहानको समयमा मोबाइल नेटवर्कले काम गरेको छैन । सँधै साँझ घाम अस्ताएपछि गएको मोबाइल नेटवर्क भोलिपल्ट बिहान घाम नलागेसम्म नआउने स्थानीयहरुले गुनासो गरेका छन् ।
‘एक महिना भइसक्यो, बेलुकादेखि भोलिपल्ट बिहान ८ बजेसम्म मोबाइलको नेटवर्क देखाउँदैन्’, चुमनुब्री गाउँपालिका–३ जगतका गणेश कार्कीले भने, ‘यस्तो समस्या पटक पटक भइरहन्छ । १२ घण्टाभन्दा बढि समयसम्म फोनमा नेटवर्क नहुँदा हामी उत्तरी गोरखाबासीहरु समस्यामा छौँ ।’ आफुहरुले पटक पटक पालिका र नेपाल टेलिकममा गुनासो गर्दासमेत सुनुवाई नभएको उनले बताएका छन् ।
चुमनुब्रीमा नेपाल टेलिकमको नेटवर्क मात्र चल्छ । त्यो पनि समय समयमा नचलेर हैरान हुने गरेको ग्राहकहरुको गुनासो छ ।। ‘मोबाइल नेटवर्क नहुँदा न फोन लाग्छ, न त फोर जी नै चल्छ ! स्थानीय सर्वसाधारण, पर्यटकहरु, गाइड, पोर्टर, हामी होटल व्यवसायीहरु त सँधै मर्कामा परेका छौँ’, उनले भने । रातको समयमा नेटवर्क नचल्दा आपतकालीन समयमा निकै समस्या हुने गरेको उनले गुनासो गरेका छन् ।
‘आजभोलि सबै होटलहरु अनलाइनबाटै बुकिङ हुन्छ, पर्यटकहरु पनि फोनबाट सम्पर्क गर्दै आउनु पर्ने हुन्छ । यसरी सधैँ बेलुकादेखि भोलिपल्ट बिहानसम्म फोनले काम नगर्दा हामी त अध्याँरोमा परेका छौँ’, उनले भने । चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले पनि राती राती टावर जाँदा निकै समस्या हुने गरेको बताएका छन् । उनी भन्छन्, ‘समस्या त भएको छ, आजै समन्वय गर्ने तयारी गरिरहेको छु । छिटै समस्याको समाधान हुन्छ ।’
नेपाल टेलिकम कार्यालय गोरखाका प्रमुख सरोज अर्यालले भने प्राविधिक समस्याका कारण नेटवर्क गएको बताएका छन् । ‘त्यहाँको टेलिकमको टावर सोलारबाट चल्ने हुँदा घाम अस्ताएपछि नेटवर्क जाने समस्या भएको हो’, उनले भने, ‘अहिले जाडो समयमा धेरै घाम नलाग्ने भएर व्याकअपले नधानेर बेलुकै नेटवर्क जाने समस्या आएको हो । विजुली जडान् गर्न चाहिने पोल, तार लगायत सामाग्रीहरुको इस्टिमेट मगाएको छु । त्यसलाई हाम्रो पोखरा स्थित कार्यालयबाट स्वीकृट भएर पठाएपछि टावरमा बिजुली जोड्ने काम अघि बढ्छ ।’