Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

पूर्वगृहमन्त्री लामिछानेकी पत्नी उपाध्यक्ष रहेको सहकारीका सबै सञ्चालकमाथि अनुसन्धान गर्न प्रहरीलाई काठमाडौं महानगरको पत्र

पूर्वगृहमन्त्री लामिछानेकी पत्नी उपाध्यक्ष रहेको सहकारीका सबै सञ्चालकमाथि अनुसन्धान गर्न प्रहरीलाई काठमाडौं महानगरको पत्र

images

इच्छाकामना न्युज

१९, मंसिर २०८१
पूर्वगृहमन्त्री लामिछानेकी पत्नी उपाध्यक्ष रहेको सहकारीका सबै सञ्चालकमाथि अनुसन्धान गर्न प्रहरीलाई काठमाडौं महानगरको पत्र
images

काठमाडौँ — रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल जोडिएको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको बचत हिनामिनामा अनुसन्धान गर्न काठमाडौं महानगरपालिकाले प्रहरीलाई पत्र लेखेको छ ।

महानगरको छानबिनमा संस्थाका सञ्चालकले बचतकर्ताको रकम हिनामिना गरेको, बचत परिचालनमा गम्भीर त्रुटि तथा जालसाजी गरेको देखिएपछि तत्–तत् समयका सञ्चालकमाथि अनुसन्धान र कारबाहीका लागि भन्दै प्रहरी परिसरलाई पत्र पठाइएको हो ।

बचतकर्ताको उजुरीका आधारमा महानगरको सहकारी विभागले साई स्वागत सहकारीमाथि केही महिनादेखि अध्ययन गरिरहेको थियो । अध्ययन सकिएपछि सोमबार महानगरले अनुसन्धानका लागि प्रहरीलाई पत्र लेख्ने निर्णय गरेको थियो ।

‘समस्या देखिएका ७ सहकारीलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि महानगरले यसअघि नै परिसरमा पत्र पठाइसकेको छ । अहिले साई स्वागत सहकारी संस्थालाई पनि प्रचलित कानुनबमोजिम कारबाहीका लागि पठाइएको हो,’ महानगरका एक अधिकारीले भने ।

साई स्वागत सहकारीमा २०७५ पुस २८ को साधारणसभाबाट भरतमणि जंगम अध्यक्ष, निकिता पौडेल उपाध्यक्ष, शंकर उपाध्याय दाहाल सचिव र लुमन दाहाल कोषाध्यक्ष चुनिएका थिए । सदस्यमा पुरुषोत्तम अधिकारी, रजनीश आचार्य र निशा केसी थिए । लेखासमिति संयोजकमा रामहरि अधिकारी, सदस्यमा जनक गौतम र केदारबहादुर दाहाल रहेका थिए ।

भ्रष्टाचारविरोधी अभियन्ता भनेर चिनिने जंगम कुनै बेला न्युज २४ टेलिभिजनमा कार्यक्रम पनि चलाउँथे । त्यही टेलिभिजनमा लामिछानेसँग मित्रता बढेपछि सहकारीको ऋण दिलाउन आफूले सहयोग गरेको बयान उनले महानगरलाई दिएका थिए । निकिताले उपाध्यक्ष रहेकै बखत धितो नराखी ५० लाख ऋण लिएको र त्यस्तै

प्रवृत्तिमा ऋण प्रवाह गरिँदा सहकारी संकटमा परेको भन्दै बचतकर्ताले महानगरमा उजुरी दिएका थिए । उजुरीमा बचतकर्ताको करिब १ करोड ९ लाख रुपैयाँ साँवा मागदाबी गरिएको थियो । त्यसपछि गरिएको अनुसन्धानका क्रममा संस्थामा गम्भीर त्रुटि तथा जालसाजी गरेको भेटिएको महानगरले जनाएको छ ।

‘बाँसबारी काठमाडौंस्थित साई स्वागत बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता/सदस्यले विभिन्न मिति र समयमा उक्त संस्थामा खाता खोली बचत गरेका थिए । तर उक्त रकम अवधि भुक्तानी भइसक्दासमेत संस्थाले फिर्ता नगरेको तथा सर्तअनुसार समयमै साँवाब्याज उपलब्ध नगराई आलटाल गरी ठगी गरेको हुँदा संस्थाका सञ्चालकलाई आवश्यक कारबाही गरी रकम फिर्ता पाउँ भनी निवेदन पेस गरेका छन्,’ महानगरले प्रहरीमा पठाएको पत्रमा भनिएको छ ।

‘सोही आधारमा ०८० चैत २३ मा काठमाडौं महानगरपालिका सहकारी विभागबाट खटिएका विज्ञसहितको अनुगमन टोलीले अनुगमन गर्दा विभिन्न पक्षमा गम्भीर त्रुटि तथा जालसाजी गरेको देखिएकाले सम्बन्धित सञ्चालकहरूलाई कानुनबमोजिम कानुनी कारबाहीका लागि पठाइएको छ,’ पत्रमा उल्लेख छ ।

महानगर कार्यालयमा रहेको अभिलेखअनुसार संस्था दर्ताको बखत गठन भएको तदर्थ सञ्चालक समितिमा अध्यक्ष अर्जुन श्रेष्ठ, उपाध्यक्ष जागेश्वर यादव, सचिव सन्तोष किशोर लाभ र कोषाध्यक्ष अमरलाल श्रेष्ठ थिए । समितिमा सरोज श्रेष्ठ, मनोज देवकोटा र मृगेन्द्र राजभण्डारी सदस्य थिए । ०६६ माघ १६ मा भएको प्रारम्भिक साधारणसभाले त्यही कार्यसमितिलाई निर्वाचित गरेको थियो ।

०६९ असोज २७ र ०७२ पुस २५ मा भएको वार्षिक साधारणसभाले पनि त्यही कार्यसमितिलाई नै निरन्तरता दिएको थियो । ०७४ पुस २२ को साधारणसभाले भने नयाँ सञ्चालक समिति चयन गर्‍यो, जसमा अध्यक्ष नोखराज पोखरेल, उपाध्यक्ष लुमन दाहाल, सचिव शेखर उपाध्याय दाहाल र कोषाध्यक्ष योगिता पुन रहेका थिए । त्यस समितिमा सरोज लामिछाने, रजनीश आचार्य र लिससा पौडेल सदस्य थिए । साधारणसभाले लेखा समिति संयोजकमा रामहरि अधिकारी, लेखा समिति सदस्यमा केदारबहादुर रावल र शैली थापा चयन गरेको थियो ।

भरतमणि र निकिता अहिले सहकारीमा पदाधिकारी छैनन् । ०८० असार १० मा सहकारी संस्थाबाट प्राप्त एक पत्रमा पौडेलले उपाध्यक्ष पदबाट राजीनामा गरेको भनिएको महानगरले कैफियतमा उल्लेख गरेको छ । तर कारोबार बिग्रिएपछि सहकारीमा सदस्य नै नरहेकी निमकुमारी छन्तेललाई अध्यक्ष बनाइएको थियो । यो विषय पनि निकै विवादित छ ।

भरतमणि नेतृत्वको कार्यसमितिले संस्थाको रकम हिनामिनाबाट जोगिन छन्तेललाई अध्यक्ष बनाएको विषय प्रहरीलाई पठाइएको पत्रमा महानगरले प्राथमिकतासाथ उल्लेख गरेको छ ।

‘०७८ साउन २८ को संस्थाको तत्कालीन सचिव तथा व्यवस्थापक शंकर उपाध्याय दाहाल, लेखा समिति संयोजक रामहरि अधिकारी र सदस्य जनक गौतम तथा अध्यक्ष भरतमणि जंगमबीच करारनामा गरी संस्थाको तत्कालीन अध्यक्षलाई जिम्मेवारी मुक्त गर्ने मनसायबाट ०७९ मंसिर १२ मा संस्थाको सदस्य नभएकी निमकुमारी छन्तेललाई सञ्चालक समितिमा अध्यक्ष बनाएको देखिएको छ,’ पत्रमा भनिएको छ, ‘साधारणसभामा अनुपस्थित तथा सदस्य नरहेको व्यक्ति निशा खड्का उपाध्यक्ष लगायतका अन्य पदाधिकारी नियुक्ति गरी तत्कालीन सञ्चालक समिति बचतकर्ताको बचत फिर्ता गर्ने जिम्मेवारीबाट उम्किने गरी कार्य गरेको जस्तो देखिएको छ । त्यतिबेला समितिमा नियुक्त अधिकांश मानिस संस्थाको सम्पर्कमा पनि रहेका छैनन् ।’

जोरपाटीमा डेरा बसेर तीन छोराछोरी हुर्काइरहेकी एकल महिला छन्तेल सहकारीकी ऋणी पनि होइनन् । सहकारी करोडौं बचत अपचलनको अनुसन्धानमा तानिएपछि मात्र उनले संस्थाको हविगत थाहा पाएकी थिइन् । पदाधिकारी आफैंले ऋण लिने, बिनाधितो कारोबार गर्ने र रकम आफूखुसी खर्च गर्ने प्रवृत्तिले साई स्वागत सहकारी संकटमा परेको थियो ।

योजनाकारलाई उम्काउने उद्देश्यले मासिक १५ हजार तलब हुने भन्दै फकाएर छन्तेललाई अध्यक्षमा राखिएको महानगरको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । महानगरले तयार पारेको प्रतिवेदनअनुसार साई स्वागत सहकारीले सदस्य नबनेकासँग कारोबार गरेको, कार्यक्षेत्रबाहिर पनि कारोबार गरेको पाइएको छ । प्रतिवेदनका अनुसार उक्त सहकारीमा ८३ महिला र ४१ पुरुष गरी १ सय २४ जना सदस्य छन् ।

संस्थाको सेयरपुँजी २७ लाख ९४ हजार ९ सय रुपैयाँ रहेको छ । संस्थाको बचत दायित्व ४ करोड ५९ लाख र लगानी ४ करोड १० लाख रुपैयाँ छ । १२ महिनाभन्दा कम भाका नाघेको ऋण २३ लाख ७२ हजार र १२ महिनाभन्दा बढी भाका नाघेको ऋण २ करोड ४७ लाख ६५ हजार रुपैयाँ रहेको छ । संस्थाको कुल सम्पत्ति ५ करोड ९७ लाख ८९ हजार रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।

images
प्रकाशित मिति :मंसिर १९, २०८१ बुधवार - ०९:५१:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology