Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

जन्मदेखि मृत्युसम्मै स्थानीय सरकार

जन्मदेखि मृत्युसम्मै स्थानीय सरकार

images

इच्छाकामना न्युज

२८, मंसिर २०८१
जन्मदेखि मृत्युसम्मै स्थानीय सरकार
images

सुन्दरबजार । लमजुङको सुन्दरबजार प्राकृतिक सौन्दर्यले भरिपूर्ण नगरपालिका हो । उत्तरमा सेतो फेटा गुथेर बसेको लमजुङ हिमाल, नागबेली मस्र्याङ्दी नदी, हरियाली फाँट र वनजङ्गलले नगरपालिकालाई सुन्दर बनाएको छ । पूर्वमा राइनास, उत्तरमा बेँसीसहर, पश्चिममा मध्यनेपाल र दक्षिणमा तनहुँको भानु नगरपालिकाले सुन्दरबजार घेरिएको छ । गुरुङको बाहुल्य रहेको यो नगर ब्राह्मण, क्षेत्री, नेवार, मगर, दलित र अल्पसङ्ख्यक दुरा समुदायको बसोबास छ । लमजुङको भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा, कुन्छा, चन्द्रेश्वर, दुराडाँडा, सेनी र सिन्दुरे गाविस मिलाएर सुन्दरबजार नगरपलिका गठन गरिएको हो । साबिक सुन्दरबजार नगरपालिकामा भोटेओडार, सुन्दरबजार, तार्कु, परेवाडाँडा र कुन्छा रहेका थिए । २०७३ सालमा चार गाविस मिलाएर सुन्दरबजार नगरपालिका घोषणा भएको हो । सुन्दरबजार नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट कृष्णप्रसाद कोइराला निर्वाचित हुनुभएको हो । नगरप्रमुख कोइरालासँग गोरखापत्रकर्मी अमरराज नहर्कीले गर्नुभएको कुराकानी : 

सुन्दरबजारलाई नाम जस्तै बनाउन काम भयो ?  

नगरपालिकालाई सुन्दर बनाउन शिक्षा, स्वास्थ्य, सडक पूर्वाधारका काम थालनी गरेका छौँ । पालिकाभित्रका सडकलाई कालोपत्रे गर्न लागत साझेदारीको अवधारणा अनुसार काम सुरु भएको छ । हालसम्म २० किलोमिटरभन्दा बढी कालोपत्रे र ढलान भइसकेको छ । प्रत्येक वडा कार्यालयसम्म पुग्ने सडकलाई कालोपत्रे गर्नका लागि स्थानीय तह, प्रदेश र सङ्घ सरकारको सहयोगमा काम भइरहेको छ । अन्य सडकको स्तरोन्नति र ढलान गरिएको छ । 

ढुङ्गा, गिट्टी, बालुवा व्यवस्थापनबाट राजस्व सङ्कलन भएको छ । पर्यटकीय स्थल, सिन्दुरेढुङ्गा, बजरकोट, गहते जस्ता क्षेत्रमा होमस्टेको सम्भाव्यता अध्ययन गरी व्यवस्थित बनाउने, गहतेलाई मौरी पकेट क्षेत्रका रूपमा विकास गर्ने, पालिकाभित्र रहेका ऐतिहासिक स्थल संरक्षण गर्ने काम भएको छ । 

शिक्षा र स्वास्थ्यका क्षेत्रमा परिवर्तन भएको छ ?  

शिक्षाको गुणस्तर अभिवृद्धि गर्न शिक्षकलाई तालिम, परामर्श दिने र अनुगमन गरिराखेका छौँ । स्थानीय पाठ्यक्रम निर्माण, दरबन्दी मिलान सुरु भएको छ । क्याम्पसलाई अनुदान सहयोग भएको छ । कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई कृषकसँग जोडेका छौँ । सरकारी स्वास्थ्य संस्थामा आवश्यक सामग्री र स्वाथ्यकर्मी पूर्ति गरेका छौँ । नमुना सामुदायिक अस्पताललाई स्तरवृद्धि गर्न एचडिसिएससँग सम्झौता गरी विशेषज्ञसहितको उच्चस्तरीय सेवा दिने अस्पतालका रूपमा स्थापित गर्न सहयोग भएको छ । बिरामीले काठमाडौँ, चितवन र पोखराका ठुला सहरमा सेवा लिन जानु नपर्ने भएको छ । 

सर्वसाधारणले प्रत्यक्ष राहत पाउने काम के के भयो ?

जन्मदेखि मृत्युसम्म स्थानीय सरकार भन्ने उद्देश्यका साथ सुत्केरी हुन अस्पताल लैजाँदा लाग्ने एम्बुलेन्स खर्च उपलब्ध गराएका छौँ । छोरी जन्मेमा बैङ्क खाता खोलेर दुई हजार जम्मा गर्ने कार्यक्रम सुरु भएको छ । शवलाई घाट लैजाँदा नगरपालिकाको बस प्रयोग गरी सहज बनाइएको छ । विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरिएको छ ।  उपमेयर उद्यमशीलता कार्यक्रम अन्तर्गत मौरीको घार वितरण, कुखुरापालन र अन्य व्यवसाय गर्न ६० प्रतिशतसम्म अनुदान उपलब्ध गराइएको छ । नगरपालिकाको पशु सेवा शाखा अन्तर्गत दुग्ध उत्पादन गर्न चाहने कृषकलाई भैँसी वा गाई किन्न ६० प्रतिशत अनुदान उपलब्ध गराइएको छ । कृषकको जीवनस्तर सुधारका लागि एक गैरसरकारी संस्थाको सहकार्यमा दुई सयभन्दा बढी स्थायी टनेल निःशुल्क वितरण गरिएको छ । गोठ सुधारका लागि अनुदान उपलब्ध गराइएको छ ।  

फोहोरको व्यवस्थापन कसरी गर्नुभएको छ ? 

फोहोर व्यवस्थापन यहाँको प्रमुख समस्या थियो । म निर्वाचित भइसकेपछि पैसा तिरेर फोहोर उठाउने गरिएकोमा त्यसलाई ‘कोटेसन’ प्रक्रियामा लगी फोहोर उठाएबापत नगरपालिकालाई १० लाखभन्दा बढी राजस्व प्राप्त हुने बनाइएको छ । फोहोरबाट मल बनाउन मेसिन खरिद गरी अब जडान गर्न मात्र बाँकी छ । 

भावी योजना पनि छन् ? 

नगरपालिकामा बहुउद्देश्यीय सिटी हल, व्यवस्थित बसपार्क, सुन्दरबजारमा विवादित बनेको मध्यपहाडी लोकमार्ग निर्माण गर्दै छौँ । ग्रामीण भेगका विद्यालयमा विद्यार्थी कम छन् । सहरी क्षेत्रमा विद्यार्थी बढी शिक्षक कम भएकाले दरबन्दी मिलानलाई निरन्तरता दिनु छ । असहाय र विपन्नको जीवनस्तर सुधारका लागि सामूहिक खेती, व्यावसायिक कृषि, एक घर एक टनेल, व्यावसायिक कुखुरापालन, मौरीपालन कार्यक्रम प्रभावकारी बनाउनु छ ।

images
प्रकाशित मिति :मंसिर २८, २०८१ शुक्रवार - ०९:३५:०३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology