Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मनास्लुको काखमा गुरु पद्मसम्भवको गुम्बा निर्माण

मनास्लुको काखमा गुरु पद्मसम्भवको गुम्बा निर्माण

इच्छाकामना न्युज

११, पौष २०८१
मनास्लुको काखमा गुरु पद्मसम्भवको गुम्बा निर्माण

गोरखा । उत्तरी गोरखाको स्यालामा गुरु पद्मसम्भवको गुम्बा निर्माण गरिएको छ । विश्वको आठौं अग्लो मनास्लु हिमाललाई पृष्ठभूमिमा पारेर खेम्पो सोनाम दोर्जे रिम्पोछेले करोडौँ लागतमा आकर्षक गुम्बा निर्माण गरेका हुन् ।

images

चुमनुब्री गाउँपालिका २ स्यालाको सयौँबर्ष पुरानो गुम्बा भएको ठाउँमा साङ्दोक पार्ली गुम्बा निर्माण गरिएको सो वडाका पूर्व वडाअध्यक्ष पेम्बारेता लामाले बताए । गुम्बा धार्मिक र पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण रहेको उनले बताए । स्यालामा माध्यमिक विद्यालय निर्माण गरेका खेम्पो सोनाम दोर्जे रिम्पोछेले सो ठाउँमा गुरु पद्मसम्भवको गुम्बा पनि निर्माण गरेका उनले बताए ।

‘खेम्पो सोनाम दोर्जे रिम्पोछेले हिउँदमा आर्खेत र बर्खामा स्यालामा सञ्चालन हुने ल्हो मावि निर्माण गर्नुभएको थियो । त्यही स्कूलको एकसय मिटर आसपासमा गुरु पद्मसम्भवको गुम्बा बनाउनु भएको छ’, लामाले भने, ‘फिनिसिङका सानातिना कामबाहेक निर्माण गरेर करिब करिब सम्पन्न भएको छ । अब उद्घाटन गर्न बाँकी छ ।’ पृष्ठभूमिमा ८,१६३ मिटर अग्लो मनास्लु हिमाल देखिने गरी यो गुम्बा आकर्षक तिब्बती शैलीमा बनेको छ । ‘स्याला भनेको किमोलुङ(धार्मिक तीर्थ) अन्तर्गत पर्ने क्षेत्र हो । यहाँ धेरै पुरानो बस्ती थियो’, लामा भन्छन्, ‘स्यालाको वरिपरि करिब पाँचसय मिटर वरपर राङदिन गुम्बा, स्याला गुम्बा, होङसाङपु गुम्बा र फोर्साङवाल गुम्बा थिए ।

अरु दुईवटा गुम्बाहरु भग्नावशेषका रुपमा बाँकी छन् । स्याला गुम्बा र होङ्साङपु गुम्बा भने पुनर्निर्माण भएका छन् ।’ अत्यन्त आकर्षक शैलीमा निर्माण गरिएकाले यो गुम्बाले पर्यटन विकासमा ठूलो टेवा पुग्ने विश्वास उनको छ । ‘यो गुम्बाको आकर्षणले यस क्षेत्रमा मात्र होइन, उचित प्रचारप्रसार हुन सकेमा नेपालमै पर्यटक बढ्न सक्छ’, उनले भने, ‘स्याला गाउँ, स्याला गुम्बा र सिधै मनास्लु हिमाल देखिने हुनाले मनास्लु आउने स्वदेशी, विदेशी पर्यटक यहाँ फोटो खिचाएर मात्र जान्छन् ।’ धेरैजसो ङिङ्मापा सम्प्रदायले मान्ने यो गुम्बा पूजाआजाका लागि निर्माण गरिएको हो ।

ध्यानका लागि अर्को गुम्बा निर्माण हुने पूर्ववडाअध्यक्ष लामाको भनाइ छ । ‘ध्यानका लागि र आवासका लागि अर्को भवनहरु पनि बन्नेछन्’, उनले भने । चुमनुब्री गाउँपालिकाको वडा नं. ३ बाहेक बाँकी कुनै पनि वडामा सडक सञ्जालले छोएको छैन । खेम्पो सोनाम दोर्जे रिम्पोछेले हेलिकोप्टरबाट एक्साभेटर ढुवानी गरेर यहाँ गुम्बाका लागि मैदान निर्माण गरेका थिए ।साथै गुम्बासंगै विद्यार्थीहरुका लागि ठूलो खेलमैदान पनि निर्माण गरिएको छ ।

images
प्रकाशित मिति :पौष ११, २०८१ बिहिवार - १५:१२:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology