गोरखा । गोरखा नगरपालिका–५ स्वाँरामा रहेको गोरखा नेत्रहीन संघको कार्यालयमा चोरी भएको छ । कार्यालयको झ्याल फुटाएर भित्र रहेको पञ्चेबाजाको सेट, ६ वटा दराज, पानी तान्ने मोटर र इन्टरनेटको राउटर चोरी भएको संघका अध्यक्ष पवन कुमार बस्नेतले बताए ।
‘कार्यालयको भवनको माथिल्लो झ्याल फुटाएर ती सामानहरु चोरेर लगेको रहेछ,’ उनले भने । केही दिन यता कार्यालयमा आफूहरु नगएको जानकारी गराउँदै उनले थपे, ‘डेढ महिना अघि एउटा तालिम सम्पन्न गराएपछि हामी खासै त्यो कार्यालय जान पाएका थिएनौ, कार्यालय पनि बन्द थियो । आज जाँदा झ्याल खुल्लै देख्यौ, भित्र हेर्दा त सामानहरु चोरी भएको रहेछ ।’
घटनाबारे संघले मंगलवार जिल्ला प्रहरी कार्यालयमा निवेदन समेत दिएको छ । निवेदन प्राप्त भएको जानकारी गराउँदै जिल्ला प्रहरी कार्यालयले घटनाबारे थप अनुसन्धान भइरहेको र चोरीमा संलग्नको खोजी कार्य जारी रहेको बताएको छ ।