Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

जलवायु परिवर्तनको मारमा मनाङका किसान

जलवायु परिवर्तनको मारमा मनाङका किसान

images

इच्छाकामना न्युज

१७, पौष २०८१
जलवायु परिवर्तनको मारमा मनाङका किसान
images

मनाङ, पुस १७ गते । जलवायु परिवर्तनले गर्दा मनाङका किसानहरू मारमा परेका छन् । समयमै हिउँ नपर्दा उवा (करु) का लागि सिँचाइ नै गर्नुपरेको छ । सामान्यतया मनाङमा हिजोआज अत्यधिक चिसो बढ्नाले बालीनालीका लागि पानीको मात्रा कम भई सुख्खा बढेको छ । 

मनाङ चामेका युवा कृषक शेराप विष्टले कहिल्यै उवाका लागि सिँचाइ गरेको नदेखेको नभोगेको भएपनि आफैंले यसपालि पाइपमार्फत सिँचाइ गर्नुपरेको बताउनुभयो । उहाँले भन्नुभयो, "हामीजस्ता कृषक जलवायु परिवर्तनको प्रत्यक्ष मारमा परेका छौं । सधैं समयमै हिउँ पथ्र्यो, जमिनमा चिस्यानको मात्रा रहिरहन्थ्यो तर यसपालि त जीवनमा कहिल्यै पानी लगाउन नपरेको उवा खेतीका लागि पाइप तथा कुलोमार्फत पानी लगाएँ ।"

उहाँले बालीनाली फल्ने पाक्ने समय पनि परिवर्तन भएको बताउनुभयो । उहाँले भन्नुभयो, "हिमाली भेगमा तापक्रम वृद्धि हुँदा पहिले राम्रो नफल्ने बालीनाली फलफूल अहिले फल्छ र पाक्छ ।" उहाँले पुस माघमै गुराँस फुल्ने र हिउँ पर्ने समय धकेलिँदै गएर फागुन चैत पुग्ने गरेको जानकारी दिनुभयो । प्रायः वर्षको एक बाली मात्र उत्पादन हुने हिमाली भेगमा दुई बाली उत्पादन हुन थालेको छ । परम्परागत खेतीकिसानीलाई आधुनिक तरिकाले खेती गर्दा बालीनाली राम्रो हुने तथा उत्पादन पनि बढी हुने उहाँले बताउनुभयो । जलवायु परिवर्तनले गर्दा पहिलेको घनाजंगल मासिएर अहिले मानव बस्तीमा परिणत भएको उहाँको भनाइ छ ।

त्यस्तै जलवायु परिवर्तनको असरले गर्दा हिमपात हुनुपर्ने समयमा हिमपात नहुँदा नियमित चक्र बिथोलिने र कृषि उत्पादन घट्ने चिन्ता रहेको मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङका वयोवृद्ध किसान याङ्दु गुरुङले बताउनुभयो । उहाँले दश बाह्र वर्षदेखि बिस्तारैबिस्तारै पुस माघमा पर्ने हिउँ सर्दै सर्दै फगुन चैतमा पर्न थालेको बताउनुभयो । उहाँले भन्नुभयो, "पहिलाको जस्तो हिजोआज पुस माघमा हिउँ पर्दैन, हामीले जान्दासुन्दा त पुसमा हिउँले छोपेको हुन्थ्यो । हिजो आज हिउँ पर्ने समय सरेको छ । चैततिर पो बाक्लो हिउँ पर्न थालेको छ ।" 

समयमा हिउँ नपर्दा सिँचाइको अभाव हुने र मुख्य गरी किसानलाई समस्या पर्ने गरेको उहाँले बताउनुभयो । समयमा हिमपात नहुँदा पशुचौपायालाई पनि असर गरेको छ ।

विश्वले भोगिरहेको जलवायु परिवर्तनको असर मनाङमा पर्नु अत्यन्तै दुर्भाग्यपूर्ण भएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले बताउनुभएको छ । उहाँले हिमाली क्षेत्रहरू केही वर्षदेखि नाङ्गा हुँदै आएको र हिउँ पर्ने समयमा हिउँ पर्न नसकेको बताउनुभयो । 

मानव जातिले भौतिक विकासका लागि प्रकृतिको अनुचित दोहन नरोक्दा तथा मान्छे प्रकृतितिरै फर्कनुपर्छ भन्ने जनचेतनाको कमीले पनि यो परिस्थिति देखा परेको उहाँको भनाइ थियो । "मान्छे प्रकृतितिर फर्कनुपर्छ, प्रकृतिको आफ्नो सिस्टम छ त्यो जोगाउनुपर्छ । यदि यो गर्न सकिएन भने जलवायु परिवर्तनको असरले प्राणीको अस्तित्वमा नै सङ्कट ल्याउने निश्चित छ । यसले आजको पुस्ता मात्र नभई भोलिको पुस्तासम्म दूरगामी असर पर्नेछ," अध्यक्ष लामाले भन्नुभयाे ।

प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले पुस १५ सक्दा पनि हिउँ नपर्नु दुःखद भएको बताउनुभयो । उहाँले हिउँ नपर्दा प्रकृतिको भरमा खेती गर्नुपर्ने किसान निराश भएको बताउँदै मानिसको नियमित प्राकृतिक चक्र नै बिथोलिन थालेकामा चिन्ता व्यक्त गर्नुभयो ।

विगत केही वर्षदेखि हिउँ पर्ने समय बदलिँदै गएको पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । गुरुङले जलवायु परिवर्तनको असर प्रत्यक्षरूपमा परेको उल्लेख गर्दै उत्पादन घट्दै गएको र खेतीबाली नै परिवर्तन गर्नुपर्ने अवस्था आउन थालेको बताउनुभयो । "हिउँकै पानीले सिँचाइ हुने मनाङमा हिउँ नै नपरेपछि पानीको अभाव देखिने नै भयो," उहाँले भन्नुभयो ।

images
प्रकाशित मिति :पौष १७, २०८१ बुधवार - २१:०८:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology