गोरखा । धादिङको तृष्णा कन्ट्रक्सन कन्सर्न नामक निर्माण कम्पनीले जिम्मा लिएको भिमसेनथापा गाउँपालिकाको कार्यालय जोड्ने सडक अहिले अलपत्र छ । गत असारमा काम सम्पन्न गर्नुपर्ने भएपनि हालसम्म कामको प्रगति ३० प्रतिशतभन्दा बढी छैन । ठेकेदारको चरम लापरवाहीका कारण काम अलपत्र परेको पालिकाले जनाएको छ ।
उक्त ठेकेदार कम्पनीले जिम्मा लिएको दुई वटा सडक निर्माणको काम अलपत्र रहेको पालिकाका इन्जिनियर कपिल पनेरुले बताए । ‘त्यो काम गोरखा सडक आयोजनाले हेर्छ, पालिकाले त आवश्यक समन्वय मात्र गरिदिने हो’, उनले भने, ‘तर काम नै नगरेर पालिका आउजाउमा पनि समस्या भएको छ ।’ पालिकाको कार्यालय आउजाउ गर्न बैकल्पिक बाटो प्रयोग गरिएको उनले जानकारी दिए ।
‘अहिले एउटा कच्ची सडक छ, त्यसैलाई सामान्य मर्मत गरेर आउजाउ गरेका छौँ’, उनले भने । पक्की सडक नहुँदा आवत जावतमा समस्या परेको उनको गुनासो छ । संघको ९५ लाख ३६ हजार बजेटमा सो सडक निर्माण हुन लागेको हो । पालिका जाने १ सय ५० मिटर सडक ढलान र ‘आहाले भन्ज्याङ खान्चोक भन्ज्याङ कोयाभन्ज्याङ’ सडकको माटो काट्ने र टेवा पर्खाल लगाउने गरी ठेक्का सम्झौता भएको गोरखा सडक योजनाले जनाएको छ ।
गत वर्षको कात्तिकमा आयोजनाको ठेक्का सम्झौता भएको कार्यालयका सूचना अधिकारी आशिक रिजालले बताए । गत असारमसान्तमा काम सम्पन्न गर्नुपर्ने भएपनि हालसम्म ३० प्रतिशतभन्दा प्रगति नभएको उनले जानकारी दिए । योजनाको म्याद थप गर्नुपर्ने भन्दै उनले छिटो काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइसकेको बताए ।
पालिकाले पनि आफ्नो तर्फबाट ताकेता गरिरहेको पालिका उपाध्यक्ष अमृतादेवी वस्तीले बताइन् । ‘हामीले छिटो भन्दा छिटो सडक निर्माण गर्नुप¥यो भनेर ताकेता गरिरहेका छौँ’, उनले भनिन्, ‘काम सुरु भएको छैन, ठेकेदार कम्पनीले छिटै सुरु गर्छु चै भनेको छ ।’