Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नारायणीको पानी फर्काउन स्थानीयको अवरोध

नारायणीको पानी फर्काउन स्थानीयको अवरोध

images

इच्छाकामना न्युज

२४, पौष २०८१
नारायणीको पानी फर्काउन स्थानीयको अवरोध
images

नवलपुर, पुस २४ गते   । जिल्लाको गैँडाकोट नगरपालिका–१० र ११ को सीमा भएर बग्ने नारायणी नदीको बहाव परिवर्तन गराउन स्थानीयले अवरोध गरेका छन् । नारायणीपीडितले अवरोध गरेपछि नदीको बहाव परिवर्तन गराउने काम रोकिएको छ । बिहीबार र शुक्रबार दुई वटा डोजरले खनेर नारायणीको बहाव परिवर्तन गराउने प्रयास गरेकोमा नदीपीडितले अवरोध गरेपछि तत्काललाई काम रोकिएको जिल्ला समन्वय समितिका प्रमुख बाबुराम विश्वकर्माले जानकारी दिनुभयो । 

२०५८ सालमा नारायणीमा आएको बाढीले पीडित बनाएकाले अहिलेसम्म राहत नपाएको र अहिले नदीको धार परिवर्तन गराउँदा वर्षामा फेरि बाढीको जोखिम हुन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दाले विरोध गरेका हुन् । अदालतले समेत राहत दिन आदेश दिइसकेकाले सरकारले तत्काल राहत उपलब्ध गराउनुपर्ने, वर्षामा बाढी पस्न नसक्ने गरी तटबन्ध निर्माण गर्नुपर्ने र नारायणीलाई साबिककै धारमा बगाउनुपर्ने माग गरेका छन् । 

देवचुली नगरपालिका–१७ का नारायणीपीडित नारायण थनेतले तत्काल आफूहरूलाई राहत दिनुपर्ने र राहत दिन नसक्ने हो भने नदीलाई साबिककै स्थानबाट बग्ने गरी धार परिवर्तन गराउनुपर्ने बताउनुभयो । साबिक नारायणी देवचुलीको पिप्रहरपारिको भँगालोबाट बगेको थियो । त्यसो गर्दा वर्षामा थप क्षति हुन नसक्ने थनेतले बताउनुभयो । २०५८ सालमा नारायणी नदीमा आएको बाढीले एक सय बिघाभन्दा बढी नम्बरी जग्गा बगरमा परिणत गरेको तर अहिलेसम्म क्षतिपूर्ति नपाएको पीडितको गुनासो छ । पिप्रहरका स्थानीयको मात्रै ६० बिघा जमिन नारायणीले बगर बनाइदिएको छ । नारायणीलाई साबिककै ठाउँबाट बगाउन नसके वर्षाको समयमा फेरि क्षति बेहोर्नुपर्ने पिठौली मौजा व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण कँडेलले बताउनुभयो । देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले यो विषयमा सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो ।

नारायणीको उत्खनन धेरै हुँदा नदी गहिरिएर दक्षिणी भँगालो (चितवन क्षेत्र) मा पानीको बहाव धेरै हुँदा उत्तरी भँगालो (नवलपुर क्षेत्र) भने हिउँद लागेलगत्तै सुक्खाग्रस्त हुँदै गएको छ । यसका कारण मानिस मरेर जलाएको खरानी बगाउन र दाहसंस्कारपछि नुहाउन तथा सरसफाइ गर्न निकै समस्या परेको स्थानीयले गुनासो गर्ने गरेका छन् । 

नदीको धार परिवर्तनले घडियाल गोहीको वासस्थान नै लोप हुँदै गएको छ भने गैँडाका लागि आहाल खेल्ने पानीको समेत समस्या भएको संरक्षणकर्मीले बताएका छन् । नारायणीको उत्तरी भँगालो आश्रित भएर नवलपुरका तटीय क्षेत्रमा सञ्चालन भएका पर्यापर्यटनका गतिविधि सँगसँगै नदीमा आश्रित जलचर र थलचर प्राणीलाई समेत यसले गम्भीर असर पार्ने गैँडा संरक्षण समन्वय समिति नवलपुरका अध्यक्ष विष्णु अधिकारीले बताउनुभयो । 

उत्तरी भँगालोमा नदीको पानी कम हुँदा निकुञ्जका वन्यजन्तुसमेत सहजै नवलपुर क्षेत्रका बस्तीमा प्रवेश गर्ने र यसले मानव–वन्यजन्तु द्वन्द्व थप बढ्ने गैँडाकोट–११ का अध्यक्ष सुवेदीले बताउनुभयो । 

नारायणघाटमा रहेको नारायणी नदीको पुलदेखि केही किलोमिटर तल सिख्रौलीघाटबाट नारायणी नदी दुई वटा भँगालोमा बाँडिएर बगेको छ । उत्तरी र दक्षिणी भँगालो अमलटारीघाटमा आएर मिसिने हुँदा अमलटारीदेखि सिख्रौलीसम्मको उत्तरी भँगालो लगभग सुक्खा भएपछि नदीमा आश्रित वन्यजन्तु, जलचर मात्रै नभएर नदीबाट जीविकोपार्जन गर्ने ठुलो सङ्ख्याका सर्वसाधारण समस्यामा परेको देखिन्छ  । नारायणीको उत्तरी भँगालोमा पानी सुक्दै गएपछि नदीमा माछा मारेर जीविकोपार्जन गर्ने बोटे, माझी, मुसहर समुदाय पनि समस्यामा परेका छन् ।

images
प्रकाशित मिति :पौष २४, २०८१ बुधवार - ११:४३:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology