Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखाको नौ पालिकाहरुमा न्यायिक सहजकर्ता सिफारिस

गोरखाको नौ पालिकाहरुमा न्यायिक सहजकर्ता सिफारिस

images

इच्छाकामना न्युज

२५, पौष २०८१
गोरखाको नौ पालिकाहरुमा न्यायिक सहजकर्ता सिफारिस
images

गोरखा । गोरखाको नौ पालिकाहरुमा न्यायिक सहजकर्ता सिफारिस भएका छन् । सहिदलखन र उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका बाहेक सबै पालिकाहरुमा न्यायिक सहजकर्ता सिफारिस भएका हुन् ।

स्थानीय तहको मागको आधारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सहजकर्ता सिफारिस गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहलाई न्यायिक समिति गठन गरेर विभिन्न १३ प्रकारका विषयमा विवाद निरुपण गर्ने अधिकार दिएको छ । तर, कानुन अधिकृत तथा न्यायिक सहजकर्ता नहुँदा समस्या परेको पालिकाका न्यायिक समिति संयोजक (पालिका उपप्रमुख/उपाध्यक्ष) हरुले आवाज उठाउँदै आएका थिए ।

राजनीतिक पृष्ठभूमिबाट आएका उपाध्यक्ष तथा उपप्रमुखहरुलाई न्यायिक समितिको संयोजकका रुपमा न्याय निरुपण गर्न कानुनी ज्ञान नहुँदा झन्झिटिलो भएको, कतिपय ठाउँमा मुद्दासमेत पर्ने गरेको भन्दै न्यायिक सहजकर्ताको व्यवस्था गरिदिन माग हुँदै आएको थियो । त्यहीअनुसार गत साउन २ गते बसेको मन्त्रिपरिषदको बैठकले न्यायिक सहजकर्ता करारमा नियुक्त गर्ने कार्यविधि पारित गरेको थियो ।

त्यही कार्यविधिको आधारमा मंसिर २६ गते सूचना प्रकाशित गरी २ सय ४१ जनाको अन्तरवार्ताका लागि पुस १४ गतेदेखि २० गतेसम्म तोकिएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका उपसचिव तथा सूचना अधिकारी प्रवीण ढकालका अनुसार १ सय ६६ जनाको प्रारम्भिक र अन्तर्वार्ताको औसत अंकसमेतको आधारमा गोरखा सहित गण्डकी प्रदेशभर ६५ पलिकाका निम्ति न्यायिक सहजकर्ता र वैकल्पिक उम्मेदवारको नामसमेत सिफारिस गरिएको हो ।

गण्डकीमा ८५ स्थानीय तहमध्ये १२ वटा पालिकामा माग नै भएन भने ७३ वटा पालिकाका निम्ति माग भएकोमा ६ वटामा कुनै उम्मेदवार इच्छुक नै देखिएनन् । २ वटा पालिकाका निम्ति उम्मेदवार परीक्षामै आएनन् । ‘बाँकी २० वटा पालिकामा पनि मागका आधारमा फेरि पनि परीक्षा लिएर पठाउने प्रक्रिया अगाडि बढाउँछौं,’ ढकालले भने, ‘८० प्रतिशत अंक अध्ययन, अनुभव, स्थानीय हेरर प्रदान गर्ने र २० प्रतिशत अंक अन्तर्वार्ताका आधारमा दिइएको हो ।’

प्रदेश निजामती सेवा ऐनले स्थानीय तहको कानुन सेवा पद प्रदेशको हुन व्यवस्था गरेको छ । त्यही व्यवस्थालाई टेकेर स्थानीय तहको मागका आधारमा सातौं तहको कानुन अधिकृत खटाउने प्रावधानसहितको कार्यविधि मन्त्रिपरिषदबाट पारित भएको हो । न्यायिक सहजकर्ताको दायित्व गाउँपालिकाले १५ देखि २५ प्रतिशतसम्म, नगरपालिका र महानगरपालिकाले ४० प्रतिशतसम्म बेहोर्ने र बाँकी प्रदेशले बेहोर्ने व्यवस्था कार्यविधिमा छ ।

लोकसेवामार्फत दरवन्दी तय भएर पदपूर्तीका लागि सिफारिस नभएसम्म करार सम्झौतामा पठाइने भएको हो । कानुनमा कम्तिमा स्नातक गरेका व्यक्तिलाई आवेदनका आधारमा छनोट गरी साझेदारीमा खटाइने व्यवस्था कार्यविधिमा राखिएको छ । त्योभन्दा माथि गरेको अध्ययन छ भने थप अंक प्राप्त गर्ने छन् । न्याय कानुनको क्षेत्रमा काम गरेको व्यक्ति पनि छनोटको प्राथमिकतामा पर्ने छ ।

कानुन व्यवसायीको लाइसेन्स प्राप्त गरेको, लेखापढीको काम गरेको, मेलमिलापकर्ताको तालिम लिएको व्यक्तिलाई पनि थप अंक दिने व्यवस्था छ । स्थानीय व्यक्ति नै सम्बन्धित पालिकामा भयो भने दीगो र प्रभावकारी हुन सक्ने भएकाले भूगोल पनि हेरेर छनोटको आधार तयार पारिएको छ ।

images
प्रकाशित मिति :पौष २५, २०८१ बिहिवार - ०९:५८:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology