लमजुङ । लमजुङको सुन्दरबजारबाट एकजना भारतीय नागरिक ७९ तोला ४३ लाल सुनसहित फरार भएको जाहेरी जिल्ला प्रहरी कार्यालय लमजुङमा परेको छ ।
सुन गाल्ने काम गर्दै आएका भारतको महाराष्ट्र घर भइ ३ वर्षयता सुन्दरबजार बस्दै आएका ३६ वर्षीय दिपक झाण्करले सुन्दरबजार नगरपालिका-९, भोटेओडार तल्लो बजारका दिपेन्द्र सुवर्णकारको सुन चोरेर फरार भएको उजुरी बुधबार प्रहरीमा परेको हो ।
चण्डिका सुनचाँदी पसल सञ्चालन गर्दै आएका सुवर्णकारका अनुसार आफूसँग रहेको सुन गाल्न सुन्दरबजार - ६, सुन्दरबजार बस्दै आएका झाण्करकोमा सोमबार बिहान लगिएको थियो ।
८५ तोला ३८ लाल सुन गाल्नको लागि बिहान १० बजेतिर दिएकोमा साँझ अबेरसम्म सुन गालेको तर राम्रोसँग गाल्न नमानेको भनी झाण्करले सुवर्णकारलाई ७९ तोला २० लाल फिर्ता दियो । चित्त नबुझेपछि मंगलबार बिहान साढे ६ बजे सुवर्णकार झाण्करनेर पुगे ।
उनले गाल्ने भाँडामा केही सुन रहेको भनी जोखेको र त्यसमा २३ लाल थियो । सुवर्णकारका अनुसार उक्त सुनसमेत गरी ७९ तोला ४३ लाल सुन गाल्न झाण्करलाई पुनः दिइयो ।