Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

लमजुङमा हुलाक कार्यालय प्रभावकारी हुन नसक्दा प्रयोगविहीन

लमजुङमा हुलाक कार्यालय प्रभावकारी हुन नसक्दा प्रयोगविहीन

images
लमजुङमा हुलाक कार्यालय प्रभावकारी हुन नसक्दा प्रयोगविहीन
images

लमजुङ, माघ ४ गते । कुनै समय एकमात्र सञ्चारमाध्यमका रूपमा रहेको हुलाक सेवा पछिल्लो समयमा हुलाक कार्यालय प्रभावकारी हुन नसक्दा प्रयोगविहीन हुँदै गएको छ ।

समयानुकूल र प्रविधिमैत्री हुन नसक्दा लमजुङस्थित जिल्ला हुलाक कार्यालयसहित सबै हुलाक प्रयोगविहीन बन्दै गएको हो । पछिल्लो समयमा मोबाइल फोन, इमेल, भाइबर, फेसबुकलगायत आधुनिक प्रविधिको विस्तारसँगै हुलाक कार्यालय प्रयोगविहीन बन्दै गएको हो ।

विसं १९३५ मा हुलाक घरको स्थापना भई सुरू भएको हुलाक सेवा सरकारी कामकाजलाई सहज बनाउन हुलाक ऐन, २०१९ अन्तर्गत देशभर नै स्थापना गरिएको थियो । व्यक्तिगत तथा पारिवारिक सूचना आदान–प्रदान गर्न कुनैबेला प्रमुख साधन बनेकोे हुलाक सेवा पछिल्लो समय निष्प्रभावी भएको छ ।

प्रविधिको बढ्दो प्रयोगका कारण हुलाकप्रति मानिसको अरूचि बढ्दै गएको पाइन्छ । राइनास नगरपालिकाका ९३ वर्षीय मनमाया गुरूङले भन्नुभयो, “विगतमा चिठ्ठीपत्र हुलाकी दाईले घरघरमा ल्याउने गर्दथे, हाम्रो पालामा हामीले कसैलाई केही खबर पठाउन परे पनि हुलाक सेवा अर्थात् चिठ्ठीपत्र प्रयोग गरेका थियौँ ।

विगतमा हुलाकीलाई गाउँमा आएको देखेपछि विदेशमा गएका छोरा र आफन्तको खबर आयो कि भन्दै सोध्ने गरिन्थ्यो, खबरको माध्यम भनेकै चिठ्ठीपत्र थियो ।” अहिले आधुनिक प्रविधिसँगै मोबाइल, इन्टरनेटको माध्यमबाट विदेश तथा विभिन्न ठाउँमा रहेका आफ्ना आफन्तको हालखबर मिनेटमै पाउने गर्दा चिठ्ठीपत्र पठाउन नपर्ने भएसँगै यसको बेवास्ता भएको उहाँले बताउनुभयो ।

“विगतमा चिठ्ठीपत्र पाउन पनि महिनौँ दिन कुर्नुपथ्र्यो, त्यसको महत्त्व ठूलो थियो । घर वरिपरि नै हुलाकी दाइ भेटिन्थे तर अहिले हुलाकी दाइ देख्न पनि रहर भइसक्यो,” उहाँले भन्नुभयो । तर अहिले हुलाक समयानुकूल हुन नसक्दा नयाँ पिँढीलाई हुलाक सेवा भनेकै थाहा छैन ।

हुलाक भनेको सुनेको, हुलाक कार्यालय देखे पनि यसको काम के हो रु जानकारी खासै नभएको मध्यनेपाल नगरपालिकाका २२ वर्षीय कुमार विकले बताउनुभयो । अहिलेसम्म हुलाक सेवा हामीलाई आवश्यकता नपरेकाले कुनै जानकारी तथा महत्व थाहा छैन र मैले सुने बुझेअनुसार पहिलाजस्तो हुलाक सेवा प्रभावकारी नभएकाले पनि थापा नभएको उहाँको भनाइ छ ।

नयाँपुस्ताका विकजस्तै कयौँलाई हुलाक सेवाबारे कमैलाई जानकारी छ । प्रविधिको युगसँगै हुलाकको ढाँचा परिवर्तन हुन नसक्दा सरकारी कामकाजका चिठ्ठी, पत्रपत्रिका आदाप्रदान, हुलाक टिकट बिक्री, कहिलेकाहीँ बैंकबाट ऋण लगेर भाखा नाघेका व्यक्तिलाई चिठ्ठी पठाउनेलगायत मात्रै काम हुने गरेको हुलाक अधिकृत गङ्गा घलेले बताउनुभयो ।

केही वर्षअघिसम्म प्रविधिको विकास नभएकाले हुलाक सेवा प्रभावकारी बने पनि अहिले हुलाक सेवाबाट भन्दा इन्टरनेट, इमेल, मोबाइल, वेबसाइटजस्ता नयाँ प्रविधिले छिटोछरितो सञ्चारसेवा प्रवाह गर्ने भएकाले हुलाक सेवा उपयोगिविहीन बन्दै गएको हुलाक अधिकृत घलेको भनाइ छ ।

लमजुङबाट प्रतिनिधिसभा सदस्य समेत रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले यस जिल्लामा मात्र नभई देशभरिका हुलाक सेवा प्रभावकारी नभएको गुनासो आइरहेको र महत्त्व कम हुँदै गएको पाएकाले यसलाई प्रभावकारी, प्रविधिमैत्री बनाउँदै समयसाक्षेप बनाउनुपर्नेमा आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो ।

विगतकै पारामा अब हुलाक सेवा चल्न नसक्ने र तत्कालै यसलाई परिवर्तन गर्न सक्ने अवस्था पनि नभएकाले विस्तारै हुलाक सेवाका पुरानो नीतिनियमलाई परिमार्जन गरेर प्रविधिमैत्री बनाएर अघि बढ्न लागेको उहाँको भनाइ छ । जिल्ला हुलाक कार्यालयका अनुसार सरकारी चिठी र केही व्यक्तिको पार्सललगायत गरी बढीमा २०र२५ वटा चिठ्ठी दैनिक आउने गरेको छ ।

जिल्लामा एक जिल्ला हुलाक, १० वटा इलाका, ५० वटा अतिरिक्त हुलाक गरी ६१ वटा हुलाक कार्यालय छन् । यी सबै कार्यालयमा दुई सय १० जनाभन्दा बढी कर्मचारी छन् । यतिबेला हुलाकका कर्मचारी कार्यालयका कर्मचारी कार्यालय कुर्ने र घाम तापेर घर आउने जाने गरिरहेका छन् ।

 

images
प्रकाशित मिति :माघ ४, २०८१ शुक्रवार - २२:४२:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology