तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले गिद्ध संरक्षणका लागि आराम स्थल निर्माण गरेको छ । प्राकृतिक कुचिकारको रूपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आराम स्थल’ निर्माण गरिएको हो ।
वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको बासस्थान प्रभावित हुन नदिन व्यास नगरपालिका–१० दुम्सी भतेरीस्थित गौ संरक्षण केन्द्र परिसरमा गिद्ध आराम स्थल निर्माण गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताए ।
‘आयोजनाले उक्त केन्द्रको परिसरमा स्थानीय स्रोत र साधनको प्रयोग गरी पाँचवटा टेलिस्कोपिक पोल जडान गरेको छ,’ उनले भने, ‘हरेक पोलमा गिद्धलाई बस्नका लागि फलामको आर्म राखिएको छ । फलामको आर्ममा कारण गिद्धलाई कुनै नकारात्मक असर पर्न नदिई सुरक्षित बनाउन आर्मलाई काठले ढाकिएको छ ।’