गोरखा । गोरखाको अँबुवा–बिर्दी–सेरा–पौवाटार सडक कालोपत्रे गर्ने काममा ठेकेदारको चरम लापार्बाही देखिएको छ । कार्यालयको ताकेता लत्याउँदै निर्माण कम्पनीले ठेक्का सम्झौता भएको झण्डैं दुई वर्ष बितिसक्दा जम्मा ८ प्रतिशतभन्दा बढी कार्य प्रगति गर्न सकेको छैन ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजना कार्यान्वय इकाई पोखराअन्तरगत उक्त सडक कालोपत्रे हुन लागेको हो । सडक कालोपत्रेका लागि सन् २०२३ मार्च ३१ मा ठेक्का सम्झौता गरेको अमर भिबिइपिएल–एसिपिएल जेभी निर्माण कम्पनीले अहिलेसम्म काम अघि नबढाएको हो ।
१६ किलोमिटर सो सडक ३० करोड ६१ लाखमा निर्माण सम्पन्न गर्न कम्पनीले २०८२ साल चैत्र १३ गतेभित्र सम्पन्न गर्नेगरी कार्यालयसँग ठेक्का सम्झौता गरेको इकाईका प्रमुख लक्ष्मी भण्डारीले बताए । कार्यालयको पटक पटकको ताकेता मिल्काउँदै निर्माण कम्पनीले काम अघि नबढाएको उनले जानकारी दिए । ‘हामीले ठेकेदार कम्पनीलाई काम सुरु गर्न भन्दै पटक पटक पत्र काटिसकेका छौँ,’ उनले भने, ‘अहिले बल्ल काम सुरु गर्न लागेको भन्ने जानकारी छ ।’
उनका अनुसार ठेकेदारले केही दिनअघि मात्र कामदार ल्याएर काम सुरु गरेको छ । ‘हाल संरचनाको काम अन्तरगत माटो काट्ने र नाली निर्माणको काम भईरहेको छ’, उनले भने, ‘छिटै कालोपत्रेको काम पनि सुरु गर्ला ।’ सो सडकखण्ड निर्माणका लागि चालु आर्थिक वर्ष मात्र १२ करोड रुपैँया मात्र बिनियोजन भएको बताइएको छ ।
कालोपत्रे हुन लागेको अबुँवादेखि पौवाटारसम्मको करिव १६ किलोमिटर सडक ५.५ मिटर फराकिलो रहने छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक कालोपत्रे गर्न लागिएको हो । २०८२ साल चैत्र १३ गतेभित्र सम्पन्न हुनेगरी काम भईरहेको इकाईले जनाएको छ ।
इकाईका इन्जिनियर सतिस सुवेदीका अनुसार सडक डिभिएसटी प्रविधिबाट निर्माण हुँदै छ । पञ्चवर्षीय योजना अनुरुप २ वर्षभित्र सडक निर्माणको काम सम्पन्न गर्नुपर्ने हो । इकाईले निर्माण कार्यमा सहजिकरण गरिदिन गोरखा र पालुङटार नगरपालिकालाई आग्रह समेत गरेको छ ।