लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले आयोजना गरेको ३ दिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा १ सय ३ जना बिरामीको आँखा शल्यक्रिया गरिएको छ ।
शिविरमा ९ सय ५ जनाले सेवा लिएकोमा मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया गरिएको हो । आँखामा विभिन्न समस्या देखिएका २ सय ३७ जना बिरामीलाई चस्मा वितरण गरिएको छ ।
मर्स्याङ्दी गाउँपालिका-७ ङादीस्थित भुलभुले स्वास्थ्य चौकीमा आयोजित शिविरमा नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौंका विशेषज्ञ डाक्टरसहित प्राविधिक टिम खटिएका थिए । शिविरलाई मुटु फाउन्डेसन काठमाडौं र मनोज एसोसिएसन फ्रान्सले आर्थिक सहयोग गरेको थियो ।
शिविरको अन्तिम दिन बिहीबार १ सय ९४ जनाको आँखा जाँच गरिएकोमा मोतियाबिन्दुको समस्या देखिएका २३ जनाको शल्यक्रिया गरिएको थियो । उनीहरुको शुक्रबार आँखा खोलिएको वडा नं. ७ का वडाध्यक्ष तिलबहादुर गुरुङले बताए ।