गोरखा । गोरखा नगरपालिका–७ स्थित गोरखा क्याम्पसबाट मान्द्रेढुङ्गा हुँदै छेवेटारसम्मको सडकको एक किलोमिटर खण्ड कालोपत्रे भएको छ । नेपाल सरकार, सडक विभागको एक करोड रुपैयाँ लागतमा उक्त सडकखण्डको ९०७ मिटर सडक कालोपत्रेको काम सम्पन्न भएको गोरखा सडक आयोजनाले जनाएको छ ।
डाइमण्ड इन्फ्रास्ट्रक्चर, गोरखाले गत कात्तिकमा ठेक्का सम्झौता गरेको सडक कालोपत्रेको काम निर्धारित समय अगावै सम्पन्न भएको आयोजनाका सव–इन्जिनियर शिव सुवेदीले बताए । ‘असार मसान्तभित्रमा काम सम्पन्न हुनुपर्नेमा अहिले नै लगभग सबै कामहरु सम्पन्न भइसकेको छ, एकहप्ताभित्रमा योजना नै सम्पन्न हुन्छ’, उनले भने ।
आयोजना अन्तरगत सडक कालोपत्रेसँगै दुई ठाउँमा मेसिनरी वाल निर्माणको काम रहेकोमा कालोपत्रेको काम सम्पन्न भईसकेको र केही फिनिसिङ्को काम मात्र बाँकी रहेको उनले बताएका छन् । सडकको चौडाई ७.८ मिटर रहेको उनको भनाई छ । गोरखा क्याम्पसबाट मान्द्रेढुङ्गा हुँदै छेवेटारसम्मको सडकको लम्बाई आठ किलोमिटर छ ।
सोही सडकखण्ड अन्तरगत हाल एक किलोमिटर सडक मात्र कालोपत्रे भएको गोनपा–७ का वडाअध्यक्ष विष्णुप्रसाद श्रेष्ठले बताए । ‘भर्खर एक किलोमिटरमा कालोपत्रे सम्पन्न भएको छ, बाँकीको खण्डमा पनि बिस्तारै कालोपत्रे गर्ने योजना छ’, उनले भने । यही आर्थिक वर्षभित्र थप ५०० मिटर सडकखण्डमा पनि कालोपत्रे गर्ने उनले जानकारी दिए ।
‘संघकै एक करोड बजेटमा थप ५०० मिटर सडक कालोपत्रेसहित नाला र कलभर्ट निर्माणको काम यही आर्थिक वर्षभित्र हुँदै छ’, उनले भने । गोरखा क्याम्पसबाट मान्द्रेढुङ्गा हुँदै छेवेटारसम्मको सडकखण्डको अधिकांश भेगमा नाला निर्माण भईसकेको र बिस्तारै ग्राभेल गर्दै कालोपत्रे गर्ने तयारी भईरहेको वडाअध्यक्ष श्रेष्ठको भनाई छ ।