पोखरा । पाहुना टोली ब्रिगेड ब्वाइज क्लब, यूकेलाई २–० ले पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी २४ औं आहा–रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार कर्नरको सदुपयोग गर्दा सर्वाधिक उपाधि विजेता पुलिसले बेलायतको टोलीलाई घर फर्काएको हो ।
खेलको २८ औं मिनेटमा प्राप्त कर्नर पुलिसका विवेक पाण्डेले सदुपयोग गर्दै गोल गरे । उनको प्रहार ब्रिगेड ब्वाइजका खेलाडी रायन कुँवरको हेड हुँदै सेकेन्ड बारमा लाग्दै गोलमा परिणत भएको थियो । खेलको ४० औं मिनेटमा कप्तान राम वाजीले गोल गर्दै अग्रता दोब्बर बनाए । पाण्डेकै कर्नरमा उनले फ्रि हेडर गोल गरेका थिए ।