गोरखा । रोटरी क्लव अफ गोरखाले सञ्चालन गरेको दुई दिने मुटु स्वास्थ्य शिविरमा तीनहजार पाँचसय भन्दा धेरैजनाको मुटुको परीक्षण गरिएको छ । गोरखा अस्पताल तथा विभिन्न विद्यालयका विद्यार्थीहरुमा सञ्चालन गरिएको शिविरमा ३५ सय १० जनाले सेवा लिएका क्लवले जनाएको छ ।
रोटरी क्लव अफ गोरखाले सम्भव नेपालको सहकार्यमा शिविर सम्पन्न गरेको हो । शिविरमा मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, सेभ द हर्ट र गोरखा अस्पतालको प्राविधिक सहयोग रहेको थियो । सेवा लिएकामध्य ४१३ जनाको इसिजि र ४७९ जनाको इको जाँच गराइएको कार्यक्रम संयोजक किशोरजंग थापाले बताए ।
२८ जनामा भने समस्या देखिएर थप उपचारका लागि काठमाडौं रेफर गरिएको उनले जानकारी दिए । बिरामीको काठमाडौंमा उपचार सम्भव नभए भारतसम्म लगेर पनि निशुल्क उपचार गराएर ल्याउने व्यवस्था भएको उनले बताए ।
शिविरमा मुटुरोग विशेषज्ञ अनिल भट्टराईको नेतृत्वमा ३३ जनाभन्दा बढी चिकित्सक तथा स्वास्थ्यकर्मीहरु खटिएका थिए ।
शिविरमा औषधी र चिकित्सकको ब्यवस्थापन भने सेभ द हर्टले गरेको थियो । रोटरीले बर्षौदेखि नियमित रुपमा गर्दै आएको मुटु जाँच शिविर यो बर्ष पनि निरन्तरता दिएको हो । आगामि दिनमा वर्षमा एकफेर मात्र नभै महिना वा दुई महिनामा एक पटक निःशुल्क मुटु जाँच गर्ने वातावरण सिर्जना भए अझै प्रभावकारी हुने कार्यक्रम संयोजक थापाको भनाइ छ ।
यसका लागि पनि रोटरी क्लब निरन्तर लागिरहने उनले बताए । शिविर सेवामुलक भएको मुटुरोग विशेषज्ञ भट्टराईले बताए । ‘यो क्याम्प सिर्फ औपचारिकताका लागि मात्रै होइन । थुप्रै बिरामीहरुले आएर जाँच गराएका छन् । साँच्चै नै सेवामुलक भयो,’ उनले भने । शिविरको शनिबार एक कार्यक्रम गरी शिविर समापन गरिएको थियो ।
समापन कार्यक्रममा शिविरमा खटिएका सबै चिकित्सक तथा भोलेन्टियरहरुलाई प्रशंसा पत्र समेत वितरण गरिएको थियो । संयोजक थापाको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल, रोटरी क्लब अफ गोरखाका अध्यक्ष विनोद बस्नेत, गोरखा अस्पतालका मेसु सिद्धार्थ खनाल, मुटुरोग विशेषज्ञ डा.भट्टराई, चिकित्सक टोलीलगायतको उपस्थिति रहेको थियो ।