म्याग्दी — म्याग्दीको रघुगंगा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुण्डिएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ । कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा जोखिम मोलेर अक्करे भिर पार गर्न डोरी र खरको गाँजको साहरा लिनुपर्छ ।
कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु प्वाइन्टमा करिब एक सय मिटरमा रसी र खरको गाँज समाएर यात्रा गर्नुपर्ने समस्या रहेको हालै धौलागिरि आधार शिविर पुगेर फर्किएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजा पुनले बताए ।
'बेनी–चिमखोला–घ्याँसीखर्क हुँदै सुगुरथलासम्म राहुघाट र सहायक नदीहरुमा निर्माणाधीन जलविद्युत आयोजनाले बनाएको सडकमा चार घण्टा सवारी साधन मार्फत पुग्न सकिन्छ,' उनले भने, 'कोखेभिर र धौलागिरि भ्यु पोइन्टमा पदमार्ग नहुँदा धौलागिरि आधार शिविरमा पर्यटक पुग्न सकेका छैनन् ।'
दुई ठाउँमा पदमार्ग र राहुघाट नदीको केही ठाउँमा अस्थायी साँघु अथवा स्थायी प्रकृतिका झोलुङ्गे पुल बनाउन सकेमा छोटो दुरीमा पुगिने धौलागिरि आधार शिविर नयाँ पर्यटकीय गन्तब्यको रुपमा विकास हुने सम्भावना रहेको गर्बुजाले बताए ।