गोरखा । सहिद लखन गाउँपालिका १ बक्राङमा शनिबार सम्पन्न स्वास्थ्य शिविरमा २७३ जनाले स्वास्थ्य लाभ लिएका छन् । लायन्स क्लव अफ काठमाडौँ कोशेलीको आयोजना, ओम साई नाग लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजना, ग्रिनसिटी अस्पताल काठमाडौँ र गोरखा लायन्स आँखा सेवा केन्द्रको प्राविधिक सहयोग तथा गाउँपालिका कार्यालयको समन्वयमा स्वास्थ्य शिविर भएको थियो ।
शिविरमा जनरल फिजिसियनद्वारा स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो । त्यस्तै विशेषज्ञहरुद्वारा मुटु रोगको परीक्षण, इसिजी सेवासमेत प्रदान गरिएको थियो । त्यस्तै शिविरमा स्त्री तथा प्रशुती सम्बन्धी, पेट सम्बन्धी तथा आँखा सम्बन्धी समस्याको उपचार गरिएको थियो ।
आँखाको १२ जनाको शल्यक्रिया गर्नुपर्ने देखिएको शिविर आयोजक क्लवका अध्यक्ष काशिनाथ पन्तले जानकारी दिए । उनीहरुको गोरखा लायन्स आँखा सेवाकेन्द्रमा निशुल्क शल्यक्रिया हुने उनले बताए । त्यस्तै अन्य थप स्वास्थ्य उपचार गर्नुपर्ने बिरामीलाई काठमाडौंको ग्रिनसिटी अस्पतालमा उपचार गरिने उनले बताए ।
सो अवसरमा लायन्स क्लव अफ काठमाडौं कोशेली तथा ओम साइनाग लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीय महेन्द्रशक्ति मावि बक्राङमा अध्ययनरत सबै विद्यार्थीलाई ट्रयाकसुट प्रदान गरेको थियो ।
लायन्स क्लव अफ काठमाडौं कोशेलीका अध्यक्ष तथा ओम साइनाग लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष काशिनाथ पन्तको अध्यक्षतामा सम्पन्न शिविरको उद्घाटन सत्रमा वडाअध्यक्ष प्रेम गुरुङ, सहिद लखन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठ, लायन्स क्लव अफ काठमाडौं कोशेलीका चार्टर अध्यक्ष सुरेन्द्र श्रेष्ठ, महेन्द्र शक्ति माविका प्रधानाध्यापक प्रकास अर्याललगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।