Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

प्रचारप्रसारको अभावमा ओझेलमा परेको मुस्ताङको कैह्योलोङ गुफा

प्रचारप्रसारको अभावमा ओझेलमा परेको मुस्ताङको कैह्योलोङ गुफा

images

इच्छाकामना न्युज

६, फाल्गुण २०८१
प्रचारप्रसारको अभावमा ओझेलमा परेको मुस्ताङको कैह्योलोङ गुफा
images

म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्थित कैह्योलोङ गुफा ओझेलमा परेको छ । जोमसोमको प्रवेशद्वारको रुपमा रहेको स्याङ खोलाको किनारमा पर्ने कैह्योलोङ गुफा पूर्वाधार र प्रचारप्रसारको अभावमा सुनसान बनेको हो ।

स्याङखोलाको पुल भएर वार्षिक तीन लाखभन्दा बढी पर्यटक आवतजावत गर्ने मुस्ताङको कैह्योलोङ गुफा पुग्नेको सङ्ख्या नगन्यमात्रामा रहेको स्याङका बासिन्दा देवेन्द्र थकालीले बताए । ‘जोमसोमको प्रवेशद्वारमा भए पनि कैह्योलोङ गुफाको महत्व र विशेषताका बारेमा प्रचारप्रसारका साथै यहाँसम्म पुग्ने व्यवस्थित पदमार्ग नहुँदा ओझेलमा परेको हो’, उनले भने, ‘कैह्योलोङ गुफासम्म पुग्ने व्यवस्थित पदमार्ग र पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्नसकेमा मुस्ताङमा आउने पर्यटकको बसाई लम्बाउन सकिने थियो ।’

थकाली भाषामा ‘कैह्योलो’को अर्थ बिहे नगरेको र ‘ङ’लाई ओडार भन्ने गरिन्छ । बिहे नगरेका लामा ध्यान र तपस्या बस्ने ठाउँ भएकाले कैह्योलोङ गुफा नामकरण गरिएको थकालीले बताए । गुफाभित्र तीन वटा कोठा छन् । परापूर्वकालमा लामाहरूले खाना पकाउन र ध्यान बस्नका लागि प्रयोग गरेका सामग्रीहरू गुफामा अवलोकन गर्न पाइन्छ । स्याङखोलाको किनारमा रहेको पहाडको भित्तामा गुफा रहेको छ । स्याङखोलाको मोटरेबल पुलदेखि १० मिनेट पैदलयात्रा गरेपछि गुफामा पुगिन्छ ।

स्याङका पूर्ववडासचिव किरन सापकोटाले कैह्योलोङ गुफा मानव सभ्यताको विकाससम्बन्धी अध्ययन गर्नेका लागि खोजीको विषय बन्नसक्ने बताए । गुफाको बनोट र अवस्थिति देखेर अनौठो लागेको उनले अनुभव सुनाए । बाहिरबाट पहाडको बीचमा सानो प्वाल देखिए पनि भित्र पस्दा घरमै बसेको जस्तो महसुस हुने सापकोटाले बताए ।

जनकल्याण युवा क्लबले स्याङ खोलाको किनारबाट गुफासम्म पुग्ने करिब २० मिटर रेलिङसहितको पदमार्ग बनाइएको छ । स्याङखोलाको मोटरेबल पुलबाट गुफाको फेदीसम्म करिब पाँच सय मिटर पदमार्ग बनाउन आवश्यक छ । हाल खोलाको किनारै किनार हिडेर गुफामा पुग्नुपर्छ ।

घरपझोङ गाउँपालिका–३ का वडा सदस्य वीरप्रसाद थकालीले जोमसोमको पुथाङ विमानस्थल, शिन्तामणि होटल, कैह्योलोङ गुफा, किचिथाङ झोलुङ पुल हुँदै स्याङ गाउँ जोड्ने छोटो दूरीको पदमार्गको परिकल्पना गरिएको जानकारी दिए । उक्त परिकल्पनाअनुसार गाउँपालिकाले किचिथाङमा एक सय २० मिटर लामो झोलुङ्गे पुल, स्याङमा मनशान्ती पार्क निर्माण र स्याङखोलामा साउना बाथ सञ्चालन गरिएको उनको भनाइ छ ।

जोमसोमबाट शिन्तामणि होटल, किचिथाङको झोलुङ्गे पुल हुँदै स्याङ जोड्ने छोटो दूरीको पदमार्गले पर्यटकको बसाई लम्ब्याउने र पर्यटकलाई प्रकृतिमा रमाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

images
प्रकाशित मिति :फाल्गुण ६, २०८१ मंगलवार - ०८:१९:०५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology