Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पर्यटकको आकर्षण लमजुङ काउलेपानीको लालीगुराँस

पर्यटकको आकर्षण लमजुङ काउलेपानीको लालीगुराँस

images

इच्छाकामना न्युज

१, चैत्र २०८१
पर्यटकको आकर्षण लमजुङ काउलेपानीको लालीगुराँस
images

लमजुङ, चैत २ गते । वरिपरि सेता हिमाल अनि गाउँमाथिको जङ्गलमा फुलेका ढकमक्क लालीगुराँसले लमजुङको काउलेपानीलाई सिँगारेको छ । पर्यटकलाई यो मनमोहक दृश्यले आकर्षित गरेको छ । यहाँ पुग्ने पर्यटक हिमाल र लालीगुराँसको दृश्यमा मुग्ध हुने गरेका छन् । नेपालकै नमुना होमस्टेबाट पुरस्कृत काउलेपानी होमस्टेले पनि लालीगुराँसको मौसमलाई सदुपयोग गर्दै पर्यटकलाई ‘लालीगुराँस प्याकेज’ बेचिरहेको छ । होमस्टेको लालीगुराँस प्याकेजमा आन्तरिक पर्यटक आकर्षित भइरहेका छन् । १२ महिने प्याकेज अन्तर्गत फागुनदेखि चैतसम्म लालीगुराँस प्याकेज रहने होमस्टे व्यवस्थापन समितिले जनाएको छ । 

लालीगुराँस प्याकेजमा दैनिक पर्यटक आगमन बढिरहेको समितिका अध्यक्ष देवबहादुर गुरुङले बताउनुभयो । गुरुङले भन्नुभयो, “अहिले वनैभरि लालीगुराँस फुलेको छ । वरपर हिमाल खुलेका छन् । लालीगुराँस र हिमाल हेर्न आउने पर्यटकले होमस्टे भरिभराउ छ ।” 

काउलेपानी जाने बाटैदेखि लालीगुराँस र हिमालसँग पर्यटकको साक्षात्कार हुन्छ । गाउँमाथि पुरानकोटसम्मै वनैभरि लालीगुराँस फुलेका छन् । यो समयमा हिमाली दृश्यावलोकन पनि उत्कृष्ट देखिन्छ । हिमाल र लालीगुराँसको यो समयलाई समात्दै गाउँ आएका पर्यटकलाई भुलाउने गरिएको अध्यक्ष गुरुङले बताउनुभयो । पर्यटकलाई लालीगुराँस टिप्न भने रोक लगाइएको छ । 

काउलेपानी होमस्टे व्यवस्थापन समितिका अनुसार चैत/वैशाखमा ऐँसेलु/काफल प्याकेज सुरु हुन्छ । समितिका अनुसार जेठमा जडीबुटी प्याकेज, असारमा धान रोपाइँ प्याकेज र साउनमा कोदो रोपाइँ प्याकेज हुन्छन् । यसै गरी भदौमा जात्रा प्याकेज, असोजमा चाडपर्व प्याकेज, कात्तिकमा कटुस प्याकेज, मङ्सिरमा दाइ प्याकेज, पुसमा कोदो चुट्ने प्याकेज र माघमा तरुल प्याकेज बनाइएको काउलेपानी होमस्टे व्यवस्थापन समितिले जनाएको छ ।

२५ घरधुरी रहेको काउलेपानीमा  १५ घरमा होमस्टे सञ्चालन छ । यिनमा ८४ बेड रहेका छन् । सदरमुकाम बेँसीसहरबाट मोटरमा आधा घण्टामा पुगिने काउलेपानी गाउँ समुद्री सतहदेखि एक हजार छ सय मिटर उचाइमा छ । 

काउलेपानीबाट बुद्ध, मनासलु, अन्नपूर्ण, लमजुङलगायत १४ वटा हिमशृङ्खला देख्न सकिन्छ । लमजुङ दरबार, काउलेपानी देवी मन्दिरलगायत ऐतिहासिक महत्व बोकेको काउलेपानी क्षेत्रमा गुरुङ, नेवार, भुजेललगायतका जातजातिको बसोबास छ । काउलेपानीको होमस्टेसँगै स्थानीयवासीको कला, संस्कार र संस्कृतिले काउलेपानी पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको छ । गाउँमा पाहुना आएका बेला उनीहरू सामूहिक रूपमा स्वागत सत्कारमा जुट्दै कौडा, चुट्का, घाँटु जस्ता संस्कृति देखाउने गर्छन् । त्यहाँ पुग्ने पर्यटकले शिरखोला आमा समूहको भव्य स्वागत सत्कार र बिदाइसमेत पाउने गरेका छन् ।

images
प्रकाशित मिति :चैत्र १, २०८१ शनिवार - ०९:०६:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology