Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बाढी सूचनाले सुरक्षित मनाङको तालगाउँबासी

बाढी सूचनाले सुरक्षित मनाङको तालगाउँबासी

images

इच्छाकामना न्युज

७, चैत्र २०८१
बाढी सूचनाले सुरक्षित मनाङको तालगाउँबासी
images

लमजुङ, चैत ८ गते । तीन वर्षअघि असारमा हिमालपारिको जिल्ला मनाङमा भीषण वर्षा भयो । वर्षासँगको बाढीले मर्स्याङ्दी नदी किनार छियाछिया बनायो । स्थानीयका घर बाढीको वेगमा बगे, कैयौँलाई उठिबास लगायो । बाढीको चपेटामा परेका गाउँले लामो समयसम्म पालमुनि बस्न बाध्य भए । 

बाढीको मारमा सबैभन्दा बढी नासोँ गाउँपालिका–१ ताल गाउँका बासिन्दा परेका थिए । ताल गाउँमा ४३ घर छन् । मर्स्याङ्दी नदी किनारसँगको बस्ती ताल गाउँका अधिक घरमा बाढी पसेको थियो । पटक पटक बाढीको चपेटामा परेर लाखौँको धनमाल गुमाएका तालगाउँबासीले भने अब विपद् आउनु पूर्व नै सूचना पाउने भएका छन् । 

मर्स्याङ्दी नदी तटमा अवस्थित ताल गाउँलाई प्राकृतिक विपद्बाट बच्न साइरन जडान गरिएको छ । मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसीएस) ले २६ लाख रुपैयाँको लागतमा साइरन जडान गरिदिएपछि ताल गाउँवासी खुसी भएका छन् । नासों गाउँपालिका–१ का अध्यक्ष मिनराशी गुरुङले साइरन जडानपछि बर्सातको समयमा गाउँलेहरू ढुक्कसँग निदाउन पाउने भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

लमजुङसँग सीमा जोडिएको ताल गाउँलाई विपद्बाट जोगाउन पूर्व सूचना दिने साइरन जडान गरिएको एचडिसीएसका मनोसामाजिक परामर्शदाता शोभा ठकुरीले जानकारी दिनुभयो । उहाँका अनुसार नासों गाउँपालिका–८ को धारा पानीमा राखिएको एक यन्त्रले मर्स्याङ्दी नदीमा पानीको सतह मापन गर्ने छ । स्वचालित सो यन्त्रले मर्स्याङ्दी नदीमा खतराको सतह पार गरेको सङ्केत गर्नासाथ साइरन बज्न थाल्ने ठकुरीले बताउनुभयो ।

साइरन ताल गाउँभर सुनिने गरि राखिएको छ । साइरनसँगै खतराको सङ्केतको  सूचना मोबाइल एसएमएसबाट जाने प्रबन्ध समेत गरिएको छ । कथम् कदाचित लाइन गएको, नेट नचलेको स्थिति भएमा पनि कटुवालमार्फत त्यो खतराको खबर गाउँलेले थाहा पाउँछन् र उनीहरू सुरक्षित स्थानतर्फ जान सक्ने प्रबन्ध गरिएको ठकुरीले जानकारी जानकारी दिनुभयो ।

सुरक्षित स्थानका लागि स्थानीय फुटबल खेल मैदानलाई प्रयोग गर्ने गरी स्थानीय गाउँमा रहेको मर्स्याङ्दी युवा क्लबसँग समन्वय गरिएको छ । यसअघिको डुबानका बेलामा पनि त्यो ठाउँमा पानी सतह पुग्न सकेको थिएन । साइरन जडानपछि स्थानीय जन प्रतिनिधिहरू, आमा समूह, युवा क्लबका पदाधिकारीहरू, प्रहरी र स्वास्थ्य चौकी तथा गाउँका बासिन्दालाई एक दिने प्राथमिक मनोसामाजिक सहयोग सम्बन्धी तालिम दिइएको थियो ।

images
प्रकाशित मिति :चैत्र ७, २०८१ शुक्रवार - १०:२२:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology