गोरखा । मध्यपहाडी लोकमार्गको सडक क्षेत्राधिकारमा पर्ने १९ वटा घर भत्काइएको छ । मसानेठाँटी–ठाँटीपोखरी खण्ड अन्तर्गतको लुइटेलभञ्ज्याङ, बाह्रपिर्केलगायतका क्षेत्रमा सडकसँगै जोडिएका घर भत्काएर स्तरोन्नतिको काम थालिएको हो। सडक निर्माणका लागि घरधनीहरूले आफ्ना घर भत्काएका हुन्।
पालुङटार नगरपालिका–४ लुइटेल भञ्ज्याङका १०, बाह्रपिर्केका ६, वडा नं. २ पुतलीखेतका २ र वडा नं. १ धुरपुलेखारको १ घर भत्काइएको मध्यपहाडी राजमार्ग योजना कार्यालय पालुङटारका इन्जिनियर गोविन्द श्रेष्ठले बताए । निकै पुरानो लुइटेल भञ्ज्याङमा मात्र १० घर सडकको क्षेत्राधिकार भित्र परेका थिए।
लुइटेलमा ढुंगामाटोले बनेको परम्परागत घरहरू बजार क्षेत्रको बीचमा सडक परेपछि भत्काएर सडक स्तरोन्नति थालिएको हो । ‘लुइटेल भञ्ज्याङको बजार निकै पुरानो हो, यही बाटो हिँडेर काठमाडौं–पोखरा आउजाउ हुन्थ्यो,’ स्थानीय उमा श्रेष्ठले भनिन्, ‘२०५२ सालमा सडक आयो, त्यसपछि पैदल हिड्न छाडे, अहिले सडक फराकिलो बनाउन भनेर घर भत्काउन भनेपछि हामी आफैँले भत्काएका हौं।’
घर भत्काउँदा क्षतिपूर्ति भने नपाएको उनले गुनासो गरिन्। ‘बाटो फराकिलो बनाउन वर्षौदेखि बस्दै आएको घर भत्काउन पनि तयार भयौं,’ उनले भनिन्, ‘धेरै दिन भइसक्यो घर भत्काएको, भत्किएको ठाउँको माटोढुंगा त्यसै छ, अहिलेसम्म फाल्न कोही आएनन्, घर पनि भत्काउने बाटो पनि पिच नहुने हो कि, पिर पो लाग्न थालेको छ ।’
किराना पसल संचालन गर्दै आएकी श्रेष्ठ वर्षौ पहिले बनेको दुई तले घर भत्काएर छिमेकीको घरमा सरेकी छन् । ‘भत्किसकेपछि यो माटो तह लगाइदिएको भए आफ्नो सुर हुन्थ्यो, पछाडी थोरै भाग बचेको पनि छ, त्यहाँ टहरो हाल्न हुन्थ्यो,’ उनले भनिन् ।
भूकम्पको राहत रकमबाट बनेको घरको हकमा जिल्ला प्रशासन कार्यालयबाट निर्णय गराएर भत्काउँदा लाग्ने खर्च उपलब्ध गराउने निर्णय भएको उनले बताए । ‘कच्ची घरको २० हजार, ढुंगामाटोले बनेको छ भने ३० हजार र ढुंगामाटोसहित केही प्लास्टरको काम पनि भएको छ भने ४५ हजार रुपैया प्रतिधनीलाई भत्काउँदाको खर्च दिने निर्णय गरेका छौं,’ उनले भने ।