भरतपुर । आख्यानकार तीर्थ गुरूङको तेस्रो आख्यान ‘हिउँको गीत’माथि शनिबार भरतपुरमा चर्चा गरिएको छ । तमू प्ये ल्हु संघ चितवनले आयोजना गरेको ‘हिउँको गीत उत्सव’ नामक कार्यक्रममार्फत उक्त कृतिमाथि चर्चा गरिएको हो ।
कृतिमाथिको चर्चामा डा. केशव चालिसेले ‘हिउँको गीत’ उपन्यास नेपाली साहित्यको शक्तिशाली पुस्तक भएको बताए ।
‘सात सय वर्ष पहिलेको कथालाई उपन्यासमार्फत केलाउन खोजिएको छ । यसले गुरूङ समुदायको सांस्कृतिक पक्षलाई पनि बोकेको छ । त्यसैले यो उपन्यासलाई आख्यानमात्रै भनेर पुग्दैन, सांस्कृतिक आख्यान भन्नुपर्छ’, उनले भने, ‘एकातिर सांस्कृतिक आख्यान र अर्कोतिर महाआख्यान भन्दा पनि फरक पर्दैन ।’ आख्यानमार्फत गुरूङ समुदायको संस्कृति संरक्षण गर्ने प्रयास लेखकले गरेको उनले बताए ।
कार्यक्रममा गुरूङ समुदायले सेतो टीका लगाएर सत्कार गरेको प्रसङ्ग जोड्दै डा. चालिसेले थपे, ‘संस्कृति बाँच्ने आधारमध्ये एउटा अभ्यास र अर्को दस्तावेज हो । अभ्यासमा सेतो टीका पर्छ भने दस्तावेजमा पुस्तक लेखन । यसले पछिसम्म पनि राम्रो प्रभाव जमाउन सक्छ ।’ हिउँको गीत उपन्यास पनि सांस्कृतिक अभ्यासको दस्तावेज भएकोले गुरूङ जातिको संस्कृति रक्षाका लागि तीर्थ गुरूङले ठूलो योगदान दिएको उनले बताए ।
‘हिउँको गीत आफैँमा रुपक हो, अलङ्कार हो’, उनले थपे, ‘यसमा मायावी खालको यथार्थता भेटिन्छ, रियल र फेन्टासी पनि छ ।’ ‘फिक्सन’भित्रको ‘मेटाफिक्सन’ पाइने उपन्यासको विषयवस्तु हेर्दा राजनीतिसमेत लुकेको पाइएको उनको भनाइ छ । तर, कथाको सुन्दर बुनोट र शैली कलात्मक भएर पनि कथा भने अलि लामो भएको उनले प्रतिक्रिया दिए । ‘समग्रमा यो कृति आफैँमा एउटा चलचित्र हो । यसलाई गुरूङ समुदायले एउटा चलचित्र नै बनाइदिए राम्रो हुन्थ्यो’, उनले भने ।
प्राध्यापक पदमलाल भारतीले नेपाली साहित्य बजारमा उच्चकोटिको आख्यान भित्रिएको बताए । शीर्षक हेर्दा कविताजस्तो लागे पनि आख्यानमार्फत समाजको चित्र र इतिहास बोल्ने काम गरेको उनले बताए । ‘गुरूङ समुदायमा प्रचलित ब्रिटिस लाहुरेको कथा र पशुपालनसँगै खेतीपातीलाई पनि उपन्यासले जोडेको छ’, उनले भने, ‘कथामा मायाप्रेम, द्वन्द्व, रुढिवादी परम्परा, अन्धविश्वास, वास्तविकता सबै पाइन्छ । त्यसकारण यो उपन्यासमा महाभारतमा पाइने आयाम पाइन्छ ।’
अर्कोतर्फ पच्यु, घ्याप्रीले अस्तित्व जोगाउन गरिएको सङ्घर्षलाई पनि उपन्यासले समेटेको उनको भनाइ छ । उपन्यासमा वर्तमान, विगत, वर्तमान भेटिने हुँदा कथाले विगत र वर्तमानलाई एकै ठाउँमा मिसाउन खोजिएको उनले बताए ।
लेखकको व्यक्तित्वबारे चर्चा गर्दै कवि एवं सर्जक भूपिन खड्काले ‘पाठशाला’, ‘आप्पा क्हार्पा’ हुँदै ‘हिउँको गीत’सम्म आइपुग्दा तीर्थ गुरूङले गुरूङ समुदायको कथालाई साहित्यमार्फत सार्वजनिक गर्ने काममा सफलता हासिल गरेको बताए । आफैँमा मिर्गौलाको समस्याबाट ग्रस्त भईकन पनि लेखनलाई निरन्तरता दिँदै आएको उनले बताए । विगत ३४ वर्षदेखि सङ्गतमा रहेको बताउँदै उनले भने, ‘व्यक्तित्व हेर्ने हो भने अलि अन्तरमुखी स्वभावको हुनुहुन्छ, तर लेखनमा शक्तिशाली हुनुहुन्छ ।’
कवि माया घोताने गुरूङले हिउँको गीत उपन्यासमा तमू किंवदन्तीअनुसार ‘म्याजिकल रियलिजम’ पाइने बताइन् । ‘रुख हिँड्न सक्छ, ढुङ्गा–माटो बोल्न सक्छ, मान्छे पनि जनावर बन्न सक्छ’, उनले भनिन्, ‘उपन्यासमा यस्ता विषयले स्थान पाएको छ । यो आदिवासी जनजातिको संस्कृति हो । साहित्यमा यो नौलो प्रयोग पनि हो ।’ अर्को कुरा गुरूङ जातिमा छोरा र छोरीको मह¤व समान छ भन्ने सन्देश दिन उपन्यास सफल भएको पनि उनले बताइन् । ‘हाम्रो समुदायमा छोराको जति अस्तित्व छ छोरीको पनि उत्तिकै छ, जुन कुरा हिउँको गीतले पनि बुझाएको छ’, उनले भनिन् ।
लेखक तीर्थ गुरूङले चितवनका गुरूङ समुदायले आफ्नो औपन्यासिक कृतिमाथि टीकाटिप्पणी गर्ने कार्यक्रम राखेर लेखकको हौसला बढाउने काम गरेको भन्दै तमू प्ये ल्हु संघ चितवनप्रति कृतज्ञता व्यक्त गरे । उक्त कार्यक्रम हुनुपूर्व तमू प्ये ल्हु संघ चितवनले सल्लाहकार सदस्य पञ्चबहादुर योज तमूको उपस्थितिमा डा. पोलबहादुर गुरूङलाई सम्मान गरिएको थियो ।
कास्कीको मादी गाउँपालिका वडा नं–१, सिक्लेस घर भई हाल पोखरा–१३, बाँझापटन बस्दै आएका गुरूङले गुरूङ जातिको पच्यु प्येलाई १० वर्षको अध्ययन एवं अनुसन्धानबाट विद्यावारिधि गर्न सफल भएको भन्दै हौसला प्रदान गर्नका लागि तमू प्ये ल्हु संघ चितवनले सम्मान गरेको संघका चितवन जिल्ला अध्यक्ष विक्रम गुरूङले जानकारी दिए ।
गुरूङ समुदायको संस्कार, संस्कृतिको विषयलाई जीवित तुल्याउन मह¤वपूर्ण योगदान दिएको भन्दै प्ये ल्हु संघसँगै प्ये ल्हु संघको महिला समिति, युवा समितिलगायतका संघसंस्थाका पदाधिकारी तथा सदस्यहरुले पनि सम्मान गरेका थिए ।