भरतपुर । ब्लड क्यान्सरबाट पीडित भएका छ वर्षका सम्युल रानाभाटलाई उपचारका लागि आर्थिक सहयोग गर्न परिवारले अपिल गरेको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको भन्दै सम्युलको परिवारले सहयोगको माग गरेको हो ।
भरतपुर महानगरपालिका वडा नं–१३, गंगानगर निवासी सुनिल रानाभाटका ६ वर्षीय छोरा सम्युल रानाभाट केही महिनायता बिरामी भएको, जाँच गर्न जाँदा उनलाई पिडिई–बी एक्युट लिम्फोब्लास्टिक ल्युकेमिया (रक्त क्यान्सर) भएको पत्ता लागेको र उपचारका लागि आर्थिक अभाव भएकाले संघसंस्था तथा इच्छुक व्यक्तिलाई सहयोग गर्न आग्रह गरिएको हो ।
सम्युल कान्ति बाल अस्पतालमा भर्ना छन् र गत महिनादेखि केमोथेरापी र अन्य निरन्तर चिकित्सा सहयोगसहित गहन उपचार प्राप्त गरिरहेका छन् । उनको उपचारका क्रममा केमो चढाउने, अन्य औषधि किन्नेलगायतमा धेरै खर्च भइसकेको छ । निरन्तर उपचार गर्न सकिए दुई/तीन वर्षमा राम्रो सुधार हुने चिकित्सकले बताएको हजुरबुबा चित्रबहादुर रानाभाट बताउँछन् । तर, त्यसका लागि खर्च धान्नै नसक्ने अवस्थामा पुगेकोले सम्युलको उपचारका निम्ति इच्छुक व्यक्ति/संघसंस्थासँग सहयोगका लागि उनले अपिल गरेका छन् । सहयोगका लागि विक्की रानाभाटको नाममा एनआइएमबी बैंकमा रहेको खाता नं ०४६०५०५०२६१९८२ र ९८४५६७२६२४ नम्बरको ई–सेवा प्रयोग गर्न उनले अनुरोध गरेका छन् ।
उनको उपचार गर्न स्थानीय समाजसेवीले सहयोग सङ्कलन अभियान चलाएका छन् । भरतपुर–१३ निवासी शान्तराज आचार्यको पहलमा करिब ३० हजार तीन सय २५ सङ्कलन भएको छ । भरतपुर–१३, गंगानगरको सक्रिय सुन्दर गंगानगर आमा समूहद्वारा २४ हजार पाँच सय सहयोग गरिएको छ भने भरतपुर–१३ गंगानगर, रामजानकी टोल विकास संस्थाअन्तर्गतको गंगा आमा समूहले १० हजार पाँच सय र भरतपुर–२२ सहनशीला बुहारी ग्रुपबाट ११ हजार एक सय ५ सहयोग प्राप्त भएको छ ।