Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

प्रसिद्ध बारपाकको दलितबस्ती १० बर्षदेखि टहरोमै

प्रसिद्ध बारपाकको दलितबस्ती १० बर्षदेखि टहरोमै

images

इच्छाकामना न्युज

१२, बैशाख २०८२
प्रसिद्ध बारपाकको दलितबस्ती १० बर्षदेखि टहरोमै
images

बारपाक । प्रसिद्ध बारपाक ठूलो गाउँको पुछारमा एउटा अलग्गै टोल छ सानो । सरकारी स्वामित्वमा रहेको यो बस्तीको रुप र रंग भने फरक छ । सबै टहराको छानामा खिया रङका टिनपाता ठोकिएका छन् । छानामा घामपानीले झुत्रिएका पाल, मुड्का गाडेर बनाइएका भित्तामा बाछिटा छेक्न ओढाइएका पाल पनि धुजाधुजा रुपमा लत्रिएका छन् । बिगत १० बर्षदेखि यही दर्दनाक अबस्थामा गुज्रिरहेका छन्, २१ घरधुरी बिक समुदायले ।

राज्यले हरेक निकायमा प्राथमिकतामा राखेको दलित समुदायको बारपाकमा भने बिचल्ली छ । बारपाकको सौन्दर्यमा मन्त्रमुग्ध हुने जो कोहीले त्यही मुनि खोल्साको छेउको दलित बस्तीमा भने नजर लाउन छुटाइरहेका हुन्छन् ।

२०७२ साल वैशाख १२ गते ११ः५६ बजे बारपाक केन्द्रविन्दू भएर गएको ७.८ रेक्टरको भूकम्पले यहाँका एघारसय घरधुरी क्षणभरमै ढले । गाउँका ७२ जनाको मृत्यू भयो । बाँचेकाहरु पनि महिना दिनसम्म चहुरमा, बारीका गरामा बास बसे । डाँडागाउँ, गैरीगाउँ, कोटडाँडा टोलका ४१ घरधुरी बिक समुदाय कृषि र पशु कार्यालयको नाउँमा रहेको जग्गामा आएर अस्थायी टहरो बनाएर बसे । १४ घरधुरी फेरि आ–आफ्नै थातथलोमा फर्किए । डाँडागाउँ, गैरीगाउँ टोलका २७ घरधुरीको पुरानो थलो पहिरिएर राङरुङखोलासम्म पुग्यो । फर्किन सक्ने अबस्था नभएपछि उनीहरुले आफ्नो घरघडेरीको लालपूर्जा सरकारलाई बुझाए र सट्टापट्टा गरी सोही सरकारी जग्गा आफ्नो नाउँमा ल्याउन पहल थाले । पहल गरेको १० बर्ष बित्यो, तर अझै सफल हुन सकेका छैनन् ।

न वारि, न पारिको अबस्थाले यहाँका दलित समुदाय सरकारी अनुदानसमेत गुमाएर १० बर्षदेखि टहरोमै गुजारा चलाइरहेका छन् । ‘एकबर्ष हैन, दुईबर्ष हैन १०, १० बर्ष भइसक्यो टहरोमा बसेको’, स्थानीय कमला बिक भन्छिन्, ‘घर बनाउन मिल्ने जग्गा अन्त भैदिया भए त बनाइहालिन्थ्यो नि । सरकारले सबैलाई दिएको ३ लाख पनि हामीले पाएनम् । घर त के, जग्गा पनि पाएनम् ।’ आफ्नो जग्गा सरकारलाई दिएर पनि सरकारी जग्गा सट्टापट्टा गर्न नपाएको उनीहरुको गुनासो छ । ‘पहिले छलफल भएअनुसार हामी सबैले सरकारलाई लालपूर्जा बुझाएका छौँ’, उनी भन्छिन्, ‘सबैजना बारपाक, बारपाक भन्छन् । १० बर्ष भइसक्यो । यहाँभित्र यस्तो अन्यायमा परेको कसैले देख्दैन ।’ बारपाकको ओझेलमा परेको पुछार गाउँको यो बस्तीमा कसैको नजर नपरेको स्थानीय पीडितहरुको गुनासो छ ।

राज्यको हरेक निकायमा दलित, भूमिहीन समुदायलाई प्राथमिकतामा राखेर सेवा सुविधा दिइन्छ, तर भूकम्पको केन्द्रविन्दू बारपाककै दलित समुदायको भने भूकम्प गएको पहिलो दिनदेखि १० बर्ष बितिसक्दासम्म टहरोकै बास छ ।
यहाँका दलित समुदायका अगुवा सुकबहादुर बिक दलित समुदायलाई बास माग्दै ८६ पटक सिँहदरबार पुगेका छन् । ‘मैले बुझेअनुसार हामीलाई अन्याय भएको राजनीतिक प्रतिशोधले हो’, उनी भन्छन्, ‘१० बर्षमा त जनयुद्ध पनि वारपार भएको थियो तर, यो दलित बस्तीलाई पुनस्थापना गर्ने लडाइ १० बर्षसम्म भइसक्यो, प्रगति छैन । एउटा पार्टी सरकारमा आउँदा जिल्लासम्म पत्राचार गर्छ । फेरि अर्को पार्टीको सरकार आउँछ, अनि सबै फाइल गायब बनाइदिन्छन्’, उनी भन्छन्, ‘एकदुई जनाको रिसले २१ घरधुरी दलित समुदायलाई दुख दिने काम भइरहेको छ ।’

पूर्वसहमति अनुसार यहाँको ६ रोपनी १० आना जग्गा २१ घरधुरीका नाममा लालपूर्जा दिनुपर्ने अर्का अगुवा दलित उत्तम विक भन्छन् । गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट सो जग्गा दलित समुदायको नाममा दिलाउन जति प्रयास गर्दा पनि नसकेकाले कुनै बैकल्पिक ठाउँमा व्यवस्था गर्न बरु सजिलो हुने बताउँछन् ।

images
प्रकाशित मिति :बैशाख १२, २०८२ शुक्रवार - २२:४८:२६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology