देवघाट । देवघाटको बेणी संगम क्षेत्रलाई प्लास्टिक मुक्त क्षेत्र बनाईने भएको छ । देशको ग्रामीण क्षेत्रको तुलनामा सहरी तथा धार्मिक स्थलहरूमा प्लास्टिक झोलाहरूको प्रयोगले गर्दा प्लास्टिकजन्य फोहोर उत्सर्जनमा अध्यधिक वृद्धि भई फोहरको व्यवस्थापन कार्य चुनौतीपूर्ण बन्दै गएको हुँदा यसले धार्मिक क्षेत्रको सौन्दर्यतामा नकारात्मक प्रभाव पर्नुको साथै पर्यावरण र मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको परिप्रेक्षमा प्लास्टिक झोलाको प्रयोगलाई न्यूनिकरण गर्दै देवघाटधामको भित्रि धार्मिक क्षेत्रलाई प्लास्टिक मुक्त बनाईने भएको छ ।
देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बुधबार विज्ञप्ति प्रकाशित गरि उक्त अभियान कार्यान्वयनका लागि प्लास्टिक झोला लिएर आउने भक्तजनहरूबाट प्लास्टिक झोला संकलन गर्ने र ५० रुपैया लिई पुनः प्रयोग गर्न मिल्ने झोला उपलब्ध गराउने साथै झोला फिर्ता पश्चात् धरौटी वापतको रकम फिर्ता दिने गरी व्यवस्थापन गरिएकोले सोही बमोजिम गर्नु गराउनुहुन अनुरोध गरेका छन् ।