Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

मुस्ताङमा खानेपानीका मुहान सुक्दै, कृषि र पशुपालनमा असर

मुस्ताङमा खानेपानीका मुहान सुक्दै, कृषि र पशुपालनमा असर

images

इच्छाकामना न्युज

१४, बैशाख २०८२
मुस्ताङमा खानेपानीका मुहान सुक्दै, कृषि र पशुपालनमा असर
images

मुस्ताङ । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि र पशुपालन व्यवसायमा समेत जलवायु सङ्कटले विभिन्न प्रकारका समस्या र चुनौतीहरु किसानले झेल्नुपर्ने बाध्यता आइपरेको छ ।

जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रको तापमान बर्सेनि वृद्धि भइरहँदा यहाँको खानेपानी, कृषि र पशुपालनलगायतका क्षेत्रमा यस प्रकारको नकारात्मक प्रभाव देखिन थालेको स्थानीयवासी बताउँछन् । घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आयोजित आगामी पञ्चवर्षीय ऊर्जा सम्भावनासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुस्ताङको जोमसोमका स्थानीयवासीले जलवायु परिवर्तनको प्रभावका कारण खानेपानी, कृषि प्रणाली र पशुपालन क्षेत्रमा प्रतिकूल असर पुगेको बताएका छन् ।

घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा जिआइजेट नामक सङ्ख्याले स्थानीय तहको पञ्चवर्षीय ऊर्जासम्बन्धी आधारभूत सर्वेक्षण गरिरहेको छ । उक्त सर्वेक्षणका क्रममा भएको छलफल तथा अन्तरक्रियामा जोमसोमका स्थानीयवासीले जलवायु सङ्कटले हिमाली जिल्ला मुस्ताङको खानेपानी, कृषि र पशुपालनलगायत जैविक विविधतामा असर पुर्याउँदै गइरहेको औंल्याएका हुन् ।
घरपझोङस्थित जोमसोमबजारमा हिमस्रोत घट्दै जाँदा खानेपानीको चरम समस्या देखिएको खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष दीपक शेरचनले बताए । जोमसोममा विगतको तुलनामा घरधुरीको सङ्ख्या वृद्धि हुँदै गइरहेको, व्यावसायिक क्षेत्र परेको र सरकारी कार्यालयसमेत रहेकाले यहाँ खानेपानी उपयोग अत्यधिक हुने भए पनि पछिल्लो समय मुहान सुक्दै जाँदा आवश्यकताअनुसार खानेपानीको सेवा पुर्याउन नसक्ने अवस्था रहेको अध्यक्ष शेरचनले सुनाए । मुस्ताङको बजारको खानेपानी उपभोक्ताको माग धान्न मुस्किल परेकाले वैकल्पिक उपाय अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए ।

जोमसोम बजारका लागि खानेपानी आपूर्तिका लागि तीनवटा हिमस्रोत रहेको भए पनि जलवायु सङ्कटका कारण मौसमी तापक्रमको असरले उल्लिखित खानेपानीको स्रोत घट्दै गइरहेको अध्यक्ष शेरचनले बताए । जोमसोम बजारका लागि खानेपानी सेवा पुर्याउन जोमसोमको कुङ्ले लेंक र ठिनी १/२ को पानीको मुहान सुरक्षित रहे पनि ती स्रोतहरु हिमस्रोत सुक्दै जाँदा खानेपानीको अभाव भएको छ ।

“व्यावसायिक क्षेत्र भएकाले खानेपानीको माग बढी छ”, उनले भने, “पानीको स्रोत घट्दो छ, यसैले अन्य ऊर्जा सम्भावना खोजेर दीर्घकालीन समस्या खोज्नुपर्ने आवश्यकता छ ।”

हिमाली क्षेत्रको मुख्य फलफूल बाली स्याउलगायत अन्य रैथाने बालीको व्यवस्थापन र मलजल गर्ने बेलामा हिउँ पर्न छाडेको र स्याउको फूल फुल्ने बेलामा निरन्तर वर्षा हुँदा यहाँ स्याउलगायतका अन्नबालीमा क्षति पुग्ने गरेको घरपझोङ—४ का किसान राजेन्द्र शेरचनले बताए । अनुकूल मौसममा हिउँ नपर्नु र बेमौसममा हिउँ पर्दा फलफूल बगैंचामा फुल्दै गरेका फूलहरु झर्ने तथा तापमान वृद्धिले स्याउलगायतका अन्नबालीमा विभिन्न रोगकिराको सङ्क्रमण देखापर्दा स्याउलगायतका अन्नबालीको उत्पादन र गुणस्तर खस्किन थालेको घरपझोङका किसान शेरचनले उल्लेख गरे । मौसम परिवर्तनका कारण मुस्ताङमा कुनै वर्ष पर्याप्त स्याउ उत्पादन हुने र कुनै वर्ष न्यून हुने गरेको किसान बताउँछन् ।

घरपझोङका पशुपालक किसान भूपेन्द्र शेरचनले जलवायु परिवर्तनको असर यहाँका पशुपालन व्यवसायमा देखिन थालेको बताए । हिमाली उच्चलेंकमा हिउँ नपर्दा चरन क्षेत्रमा घाँस पलाउन छोडेको उनले बताए । “हिमस्रोत घट्दा उच्चलेंकमा याकचौँरीको व्यवस्थापनमा समेत समस्या परेको छ, वन्यजन्तुको जोखिम पनि यसैका कारण थपिएको छ”, उनले भने ।

images
प्रकाशित मिति :बैशाख १४, २०८२ आइतवार - ०८:१२:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology