Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

लाप्राकको नमुना बस्ती : घर छन्, बासिन्दा छैनन्

लाप्राकको नमुना बस्ती : घर छन्, बासिन्दा छैनन्

images

इच्छाकामना न्युज

१५, बैशाख २०८२
लाप्राकको नमुना बस्ती : घर छन्, बासिन्दा छैनन्
images

१५ वैशाख, लाप्राक (गोरखा) । भनाइ नै छ– घर त्यो हो, जहाँ मन बस्छ । अर्थात् जुन ठाउँमा मन रमाउँछ, त्यो नै साँचो अर्थमा घर हो । माया, सम्बन्ध र आफ्नोपनको अनुभूति नहुने घर केबल ढुंगा, माटो, इँट्टा, काठ, सिमेन्ट आदिबाट बनेको संरचना मात्र हुन्छ ।

नमुना एकीकृत बस्तीका घरमा यस्तै अनुभूति भएको छ लाप्राकीलाई । गोरखाको बारपाक केन्द्रविन्दु भएर २०७२ सालमा गएको भूकम्पपछि घरबारविहीन भएका लाप्राकका बासिन्दालाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गुप्सीपाखामा एकीकृत नमुना बस्ती बनाइदियो । एकनासका चिटिक्कका घर बनाएर गोलाप्रथाबाट स्थानीयलाई हस्तान्तरण गरी २०७८ साल वैशाख ९ गते लालपूर्जा पनि वितरण गरियो ।

तर एकीकृत बस्तीका नयाँ घरमा लाप्राकीको मन बसेन । उनीहरुले पुरानो थातथलो नछाडेपछि अधिकांश नयाँ घर रित्तै छन् । रित्ता घरको आगनमा घाँस उम्रिन थालेको छ । घरका झ्यालढोका फुटेका छन् । पुरानो गाउँ छाडेर नयाँ बस्तीमा बसेका सीमित व्यक्तिहरुमध्ये खसमाया गुरुङ पनि एक हुन् । नयाँ बस्तीसँग जीविकोपार्जन नजोडिएकाले उनी त्यति खुशी छैनिन् । खसमायाले भनिन्, ‘यहाँ घरमात्र हो, खेती गर्ने जमिन छैन, खेतीका लागि तलै गाउँ जानुपर्छ ।’ नयाँ बस्तीबाट पुरानो गाउँ जान करिब ४५ मिनेट लाग्ने उनले सुनाइन् ।

पुरानो गाउँ पहिरोको जोखिममा रहेकाले मात्र आफू नयाँ बस्तीमा बसिरहेको उनको भनाइ छ । तर छिमेकीहरु नहुँदा एक्लोपनको अनुभव उनलाई भएको छ । ‘सबै कुरा तलै गाउँमा छ तर पहिरोको डरले मात्र यहाँ आएर बस्नुपरेको हो,’ खसमाया भन्छिन्, ‘यहाँ छिमेकी कोही छैनन्, बोली मिसाउने मान्छे पाइँदैन, सुनसान छ । सबै बसे त रमाइलै हुन्थ्यो होला !’ गोदाम घर बने नमुना बस्ती पुरानो गाउँको तुलनामा नयाँ बस्ती बसाइएको गुप्सीपाखा बढी हिउँ पर्ने र चिसो हुने ठाउँ हो ।

यसअघि यो ठाउँ चरन क्षेत्रको रुपमा प्रयोग हुन्थ्यो । पुस र माघ महिनामा बस्तीमा पानी पनि अभाव हुने गरेको स्थानीय बताउँछन् । पानी लिन घरबाट करिब आधा घण्टा पैदल हिँडेर जंगलतिर जानुपर्छ । त्यसैले स्थानीयले पुरानो गाउँ छाड्न नमानेको अर्का स्थानीय मार्सिङ गुरुङ बताउँछन् । मार्सिङका अनुसार लाप्राकको नमुना बस्तीका अधिकांश घर अहिले खाद्यान्न भण्डार गर्ने गोदामको रुपमा प्रयोग भएको छ । विशेष गरी स्थानीयले ती घरहरुमा आलु थन्क्याउने गरेका छन् ।

२०५६ सालदेखि नै पहिरोको जोखिममा रहेको लाप्राकको पुरानो गाउँमा २०७२ सालको भूकम्पले ६ सयभन्दा बढी घरमा क्षति पुगेको थियो । घरबारविहीन भएका लाप्राकी गुप्सीपाखा (हाल नयाँ बस्ती रहेको ठाउँ) मा पाल र टेन्ट टाँगेर बसेका थिए । नयाँ बस्ती निर्माणका लागि ठाउँ खाली गरिदिन उनीहरु पुरानै गाउँमा फर्किएर भूकम्पले क्षति पुगेको घर मर्मत गरेर बसेका थिए । २०७३ मंसिर ८ बाट गुप्सीपाखामा एकीकृत बस्ती निर्माणको काम सुरु भएको थियो ।

बस्ती निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, सहरी विकास मन्त्रालय र एनआएनएबीच २०७३ वैशाख १२ गते त्रिपक्षीय सम्झौता भएर काम अघि बढेको थियो । घर निर्माणका लागि स्थानीयले श्रमदान पनि गरेका थिए । आठ ट्याक्टर ढुंगा र ४० बोरा गिट्टी प्रत्येक स्थानीय आफैंले जुटाएका थिए । आवश्यक काठ आफैंले जोहो गरेका थिए । करोडौंको लागतमा एकीकृत नयाँ बस्तीमा घर बनाइसकेर गोलाप्रथाबाट घर छनोट पनि गरे । तर उनीहरुले नयाँभन्दा पुरानै घरलाई प्राथमिकता दिए । छैन बिजुलीको सुविधा हाल करिब ५० घरधुरी मात्र नयाँ बस्तीमा बसिरहेका छन् ।

केहीले होटल र रेष्टुरेन्ट चलाएका छन् । ११ घरधुरी समेटेर होमस्टे पनि सञ्चालन गरिएको छ । तर उनीहरु बिजुलीको समस्या भोगिरहेको बताउँछन् । बस्तीमा गाडिएका पोलमा तार टाँगेको तीन वर्ष पुगिसक्दा पनि केन्द्रीय प्रसारण लाइनको बिजुली प्रवाह नभएको स्थानीय यामकुमारी गुरुङ गुनासो गर्छिन् । गुम्दा र बारपाकमा केन्द्रीय प्रसारणको लाइनबाट बिजुली बलिसक्दा पनि लाप्राकमा भने लापरबाही भएको उनको ठहर छ ।

‘लाप्राकको नयाँ बस्तीमा अहिले लघु जलविद्युतबाट बिजुली बालिएको छ तर साँझपख पावर पुग्दैन,’ नमुना बस्ती सामुदायिक होमस्टेकी कोषाध्यक्ष समेत रहेकी ज्योति गुरुङ भन्छिन्, ‘साँझ परेपछि बत्ती धिपधिप गर्छ । वाइफाइ चलाउन पनि समस्या हुन्छ ।’

images
प्रकाशित मिति :बैशाख १५, २०८२ सोमवार - २२:५३:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology