Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देशभर अक्षय तृतीया पर्व मनाइँदै

देशभर अक्षय तृतीया पर्व मनाइँदै

इच्छाकामना न्युज

१७, बैशाख २०८२
देशभर अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ, १७ वैशाख । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदै छ।

images

शास्त्रीय विधानअनुसार आज बिहानै उठी घर लिपपोत गरी स्नान गरेर पूजासामान तयार पारी संकल्प गरिन्छ। दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको सोह्र सामग्रीद्वारा पूजा गरिन्छ। पुरोहितलाई पनि पूजा गरी शुद्ध जल तामा वा माटाका भाँडामा राखी दालचिनी, ल्वाङ, सुकुमेल, अलैँची, मह, चिनी, सख्खर र मिश्री मिसाएर सर्वत बनाई घडा र जौको सातु दान गर्ने वैदिक सनातनी परम्परा छ।

यस दिन गरेको स्नान, दान, ध्यान, जपलगायत पुण्य कर्म कहिल्यै नास नहुने कुरा विभिन्न पुराणमा वर्णन गरिएको छ। जौको सातु र सर्वत वैशाखको गर्मीमा अमृत समान हुने भएकाले दान गर्ने र आफूले पनि खाने वैदिक कालदेखिको परम्परा हो। गर्मीबाट शरीरलाई बचाउन दुवै चीजले सहयोग गर्ने र यसबाट शक्ति प्राप्त हुने धर्मशास्त्रविद् एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराई बताउँछन्।

शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि यसले सहयोग गर्ने जनाइएको छ। ‘वैशाख शुक्ल तृतीयाका दिन थोरै दान गरे पनि धेरै फल प्राप्त हुने र यो अक्षय अर्थात् कहिल्यै नास नहुने भएकाले आजको दिनलाई अक्षय तृतीया भनिएको हो, “शरीरमाद्यं खलु धर्मसाधनम्” अर्थात् पहिले शरीरको रक्षा गर अनि मात्र धर्मको साधना गर भन्ने उक्तिलाई पनि यसले चरितार्थ गर्छ,’ उनले भने। आजको दिन दान गरिने घडालाई धर्मघटादि दान पनि भनिन्छ।

आज बूढाबूढीलाई छाता, लौरो र कपडाका जुत्ता दान गर्ने तथा गच्छे भए गाई, जमिन, अन्न र सुन पनि सत्पात्र ब्राह्मणलाई दान दिने चलन छ। यस्तो दान असहाय एवं विपन्न वर्गलाई पनि गरिन्छ। सत्य युगमा आजकै दिन आराध्यदेव महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ।

यसैले विवाहका लागि आज लग्न तथा साइत हेर्नु नपर्ने मान्यता छ। त्रेतायुगको प्रारम्भ पनि आजकै दिनदेखि भएको शास्त्रीय वचन छ।

यस दिन गरेको शुभ कामबाट अक्षय अर्थात् कहिल्यै नाश नहुने फल प्राप्त हुने हुँदा यस तिथिलाई अक्षय तृतीया भनिएको शास्त्रीय ग्रन्थमा उल्लेख छ। रासस

images
प्रकाशित मिति :बैशाख १७, २०८२ बुधवार - ०७:५७:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology