Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त

सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त

images

इच्छाकामना न्युज

२१, बैशाख २०८२
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
images

गण्डकी,  वैशाख २१ गते ।  तीनवर्षे ठेक्का अवधि सकिन चार महिना बाँकी रहँदा पोखराको सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको भौतिक प्रगति जम्मा ४४.६६ प्रतिशत पुगेको छ । पोखरा–मुग्लिन सडकमा पर्ने उक्त पुलको ठेक्का अवधि आगामी भदौमा सकिँदै छ । विसं २०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । 

पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने)का प्रमुख कृष्णबहादुर कुँवरले पुल बन्न अझै एक वर्ष लाग्ने बताउनुभयो । “मापदण्डभित्रका संरचना हटाउन खोज्दा अवरोध आएकाले सुरुको चरणमा निर्माणले गति लिन सकेन, पुलको डिजाइन स्वीकृत हुन पनि समय लाग्यो”, उहाँले भन्नुभयो, “पुलका लागि चाहिने केबललगायत सामग्री विदेशबाट ल्याउनुपर्ने भएकाले काममा ढिलाइ भइरहेको हो ।”

‘केबल–स्टेड’ प्रविधिको उक्त पुलमा चार वटा जगको काम पूरा भएको उहाँले जानकारी दिनुभयो । तीन वटा टावर निर्माण भइसकेको र एउटा निर्माणका क्रममा रहेको प्रमुख कुँवरले बताउनुभयो । आकर्षक डिजाइनमा बन्ने उक्त ‘सिग्नेचर’ पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम छिटो हुने निर्माण कम्पनीले जनाएको छ । छ लेनको उक्त सडकका अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुई वटा ‘सिग्नेचर’ पुल बन्ने प्रमुख कुँवरले बताउनुभयो । 

एसियाली विकास बैँकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण भइरहेको हो । भ्याटबाहेक ९४ करोडको ठेक्कामा रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको काम गरिरहेको हो । ‘सिग्नेचर’ पुल बनेपछि पर्यटकीय राजधानी पोखराको आकर्षण पनि बढ्ने छ । पुरानो प्रविधिको भन्दा अहिले बनाउन लागि पुल डिजाइनका हिसाबले आकर्षक रहेको जनाइएको छ ।  

एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग हुने प्रमुख कुँवरले बताउनुभयो । पुल निर्माणपूर्व विदेशी प्राविधिकसहितको टोलीले पुलको डिजाइन गरेको थियो ।  पोखरा–मुग्लिन सडक चार लेनमा विस्तार तथा स्तरोन्नति आयोजनाअन्तर्गत पोखराको सेती र तनहुँको मादी नदीमा सिग्नेचर पुल निर्माणाधीन अवस्थामा छन् । 

पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक २०७८ साल वैशाखदेखि विस्तार तथा स्तरोन्नतिको काम सुरु गरिएको थियो । निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ । गण्डकी प्रदेशको ‘लाइफ लाइन’का रूपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)मा हालसम्म भौतिक प्रगति ८२.९५ प्रतिशत र पश्चिम खण्ड (पोखरा–जामुने)मा ५०.३४ प्रतिशत पुगेको छ । 

कुल ४१।४५ किमी दूरीको पूर्वी खण्डमा तीन किमीमात्र कालोपत्र हुन बाँकी छ । कुल ३८।८८ किमी दूरीको पश्चिम खण्डमा हालसम्म ३५।५ किमी एकतर्फी (दुई लेन) सडक कालोपत्र भइसकेको प्रमुख कुँवरले बताउनुभयो । “करिब तीन किमी सडक एकतर्फी कालोपत्र हुन बाँकी छ, १८ किमी दूरीमा दुईतर्फी नै कालोपत्र भइसकेको छ”, उहाँले भन्नुभयो, “आउँदो असारभित्रमा ३० किमी दूरीमा दुईतर्फी नै कालोपत्र सक्ने लक्ष्य छ ।” रासस

images
प्रकाशित मिति :बैशाख २१, २०८२ आइतवार - २२:०३:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology