आँबुखैरेनी, ३० बैशाख । इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँले आज मंगलबारदेखि 'सवारी चालक लागु औषध चेकजाँच अभियान ' सुरु गरेको छ ।
गण्डकी प्रदेशको मुख्य सीमा नाका तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित बेनिटारमा इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहुँको आयोजना, आँबुखैरेनी गाउँपालिका र आँबुखैरेनी अस्पतालको प्रशासनिक तथा प्राविधिक सहयोगमा 'सवारी चालक लागु औषध चेकजाँच अभियान ' को शुभारम्भ गरिएको हो ।
आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमान, प्रहरी निरीक्षक टेक प्रसाद सुवेदी, वडा नं. ३ का वडा सदस्य मनोज कुमार श्रेष्ठ, वडा सदस्य राजु थापा, पुलजिप युवा क्लबका अध्यक्ष एवं युवा समाजसेवी बिजय गुरुङ, स्थानीय बुद्धिजिबीहरु लगायतको सहभागितामा सो अभियान संचालन गरिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
सवारी दुर्घटना न्युनिकरण तथा सुरक्षित यात्राका लागी पृथ्वी राजमार्ग सडक-खण्डमा संचालन हुने सम्पूर्ण सार्वजनिक तथा निजी सवारी चालकहरुलाई केन्द्रीत गरी कीट मार्फत “लागु पदार्थ सेवन (ला.प.से.)” परीक्षण कार्यक्रम सुरु गरिएको प्रहरी निरीक्षक टेक प्रसाद सुबेदीले जानकारी दिनुभयो ।
उक्त कीट मार्फत सवारी चालकको पिसाबको नमुना संकलन गरेर ५ मिनेटमा लागुऔषध/ औषध पदार्थ प्रयोग गरे/ नगरेको थाहा पाउन सकिन्छ । प्रहरी निरीक्षक सुबेदीले यस अभियानलाई सफल बनाउनको लागि आँबुखैरेनी गाउँपालिका, सम्पूर्ण आँबुखैरेनीबासी, उक्त सडक खण्डमा आवत जावत गर्ने सार्वजनिक तथा निजी सवारी चालक तथा यात्रुहरुलाई सक्रिय सहयोग गर्न आग्रह गर्नुभएको छ ।